चैत–२३, नेपाली सेनाका एक सिपाहीले खोटाङका एक सञ्चारकर्मी युवतीलाई बलात्कारको प्रयास गरेपछि चौतर्फी विरोध शुरु भएको छ । सुक्रबार साँझ दिक्तेलबाट घर जाने क्रममा जबरजङ्ग गण मुढे ब्यारेकका जवान उपेन्द्र बस्नेतले बलात्कारको प्रयास गरेपछि नेपाल पत्रकार महासंघलगायत सञ्चारमाध्यहरुले दोषीलाई कारबाहीको माग गरेको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङका अध्यक्ष दमन राई, आदिवासी जनजाति पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष केदार मगर, किरात राई पत्रकार संघ शाखा खोटाङका अध्यक्ष रामधन राई, रुपाकोट सामुदायिक रेडियोका स्टेशन मेनेजर टंकबहादुर थापा, हलेसी सामुदायिक रेडियो स्टेशन मेनेजर उजिर कार्की र सञ्चार सदन प्रालिका अध्यक्ष डम्बर हम्म्रुङले जारी गर्नुभएको संयुक्त विज्ञप्तीमा दोषीलाई कडाभन्दा कारबाही र पीडितलाई उचित क्षतिपूर्तीको माग गरिएको छ । विज्ञप्तीमा भनिएको छ,–‘पीडित युवतीले कानूनको अनुभूति गर्ने वातावरण बनाउन जोडदार माग गर्दछौँ, अन्यथा थप आन्दोलनको घोषणा गर्न बाध्य हुने छौं ।’
सोलुखुम्बु का“गेल–८ का बस्नेतले थामखोरे जङ्गलको बाटोमा बलात्कार प्रयास गरेको पीडितले युवतीले बताएकी छन् । उनी भन्छिन्््््– ‘म घर जाँदै थिएँ ! एक्कासी बाटो छेकेर लछारेर बाटोदेखि सय मिटर तलसम्म झारेर बलात्कार प्रयास ग¥यो, म फुत्किएर भाग्न सफल भएँ ।’ उनी थप्छिन्– ‘बल्लतल्ल भाग्न सफल भएपछि प्रहरीलाई खबर गरे !’
बस्नेतलाई सुक्रबार साँझ नै पक्राउ गरेर सेनालाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोविन्दकुमार साहको टोलीले पक्राउ गरेको हो ।
बस्नेतलाई बलात्कार केसमा नभई लुटपाटमा संलग्न भनेर सेनालाई बुझाइएको प्रहरी नायव उपरीक्षक साहले बताउनुभयो । साहले भन्नुभयो– ‘सेनालाई कारबाही गर्न नमिल्ने भएकाले बुझाइएको हो, बलात्कार नभई लुटपाट गरिएको भन्ने खुलेकाले सेनालाई कारबाहीका लागि पत्र सहित बुझाइएको हो ।’
ब्यारेकका गणपति रामबहादुर थापाले भने सैनिक अनुशासन विपरित गैरसैनिकको लुटपातमा संलग्न देखिएकाले सैनिक हिरासतमा राखेर अनुसन्धान बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सैनिक अनुशासन विपरित गैरसैनिक लुटपाटमा संलग्न देखिएकाले अनुसन्धान सुरु गरिएको छ, यदि बलात्कार प्रयास नै रहेछ भने दुबै मुद्दामा कारबाही हुन्छ ।’
उनलाई सेनाको जिम्मा लगाएपछि चौतर्फी विरोध सुरु भएको छ । यसबारे महिला अधिकारवादीहरू, मानव अधिकारकर्मी लगायत आक्रोशित बनेका छन् ।
बलात्कार प्रयासलाई सामान्य लुटपाट भनेर अपराधीलाई उन्मुक्ति दिलाउन खोजिएको भन्दै त्यसको प्रतिवाद गर्ने पीडितकी आफन्त संगीता राईले बताउनुभयो । उहाँले भन्नुभयो–‘एउटा विद्यार्थीलाई सेनाले किन लुट्छ ? लुटपाट गर्ने उद्देश्य नै हो भने किन जङ्गलतिर घिसार्छ ? यसमा गम्भीर भएर सोच्नुपर्छ ।’
पीडित परिवारका अनुसार दोषीलाई कारबाहीको लागि प्रहरीमा उजुरी दिइएको छ ।