चैत्र–२५, खोटाङको सदरमुकाम दिक्तेलमा सम्पन्न जिल्ला स्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि जबरजङ्ग गण मुडे ब्यारेक ‘ए’ ले हात पारेको छ । 
सोमबार भएको फाईनल खेलमा जबरजङ्ग गण मुडे ब्यारेक ‘बी’ लाई चार एक गोल अन्तरले पछि पार्दै समूह ‘ए’ ले उपाधिमाथि कब्जा जमाएको हो । सोल्मा युथ ग्रुप सोल्माको आयोजनामा बिहीबारदेखि शुरुभएर सोमबार सम्पन्न प्रतियोगितामा बाक्सिला फुटबल क्लव बाक्सिला तेश्रो भएको छ । 
माटीकोरे खेल मैदानमा भएको प्रतियोगितामा खोटाङ यातायात व्यवसायी संघ ‘ए’ लाई ट्राईब्रेकरमा हराउँदै बाक्सिला फुटबल क्लव बाक्सिला विजयी भएको हो । नयाँ वर्ष २०७१ को अवसरमा आयोजना गरिएको प्रतियोगितामा जिल्लाका १९ समूहको सहभागिता रहेको थियो । प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुने समूहले क्रमशः नगद २५ हजार, १५ हजार र दश हजारको साथमा मेडल र प्रमाण–पत्र हात पारेका छन् । 
प्रतियोगिताको पहिलो पुरस्कार बाम्राङका भीम राईले प्रायोजन गर्नुभएको थियो भने, दोश्रो पुरस्कार बास्पानीका अनुप राई तथा तेश्रो पुरस्कार दोर्पाचिउरीका दिलचक्र राईले प्रायोजन गर्नुभएको आयोजक समितिका सदस्य भीम राईले जानकारी दिनुभयो । 
यस्तै, सर्वोउत्कृष्ठ खेलाडी हिमाली क्लव ‘बी’ का शैलेन्द्र बजिमय, उत्कृष्ठ गोल रक्षक जबर जङ्ग गण मुडे ब्यारेक ‘ए’ का श्याम सिकारी, उत्कृष्ठ डिफेन्डर बाक्सिला फुटबल क्लवका सूचन आचार्य र मिडफिल्डरमा जबर जङ्ग गण मुडे ब्यारेक ‘ए’ का ओबिन्द्र राई घोषित भएका छन् । उनीहरुलाई खाल्ले–३ का खगेन्द्र राईले प्रायोजन गर्नुभएको ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ ।