बैशाख–७, खोटाङमा एउटै कोठाबाट खुद्रा तथा मदिरा बिक्रीवितरण भइरहेको भेटिएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको खोटाङबजारमा एकै ठाउँबाट खुद्रा तथा मदिरा बिक्रीवितरण भइरहेको भेटिएको हो । 
कोष तथा लेखा नियन्त्रक कार्यालयको नेतृत्वमा गएको मदिरा अनुगमन तथा निरीक्षण टोलीले शनिबार गरेको अनुगमनकाक्रममा २० वटामध्ये सबै होटल तथा खुद्रा पसलबाट दैनिक उपभोग्य तथा मदिराजन्य पदार्थ बिक्री तथा बितरण भइरहेको भेटिएको कोष तथा लेखा नियन्त्रक कार्यालय खोटाङका प्रमुख तुलसीराम बस्नेतले बताउुनभयो । उहाँका अनुसार अन्तशुल्क निर्देशीका २०६८ अनुसार खाद्य तथा मदिराजन्य पदार्थलाई छुट्टाछुट्टै स्थानमा राखेर बिक्री बितरण गर्नुपर्ने व्यवस्था छ । बस्नेतले भन्नुभयोे–‘हामीले खोटाङबजारका २० वटा होटल तथा खुद्रा पशल अनुगमन ग¥यौँ, सबै पसलमा खाद्य, खुद्रा सामग्री तथा मदिरा एकै ठाउँमा राखेर बिक्री भइरहेको भेटियो ।’ 
अनुगमनकाक्रममा २० वटा मध्ये १३ वटा खुद्रा पसलले व्यवसाय नै दर्ता नगरी सञ्चालन गरिरहेको पाइएको बस्नेतले बताउनुभयो । बीना इजाजत र बीना दर्ता व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई महिना दिनभित्र आ–आफ्नो व्यवसाय दर्ता गर्न लिखित प्रतिबद्धता गराइएको अनुगमन टोलीले जनाएको छ । 
‘ईजाजत नलिइ र दर्ता नगरी व्यवसाय चलाइरहेका व्यवसायीलाई एक महिनाभित्र इजाजत निर्देशन दिएका छौँ,’ कोलेनिका प्रमुख बस्नेतले थप्नुभयो,–‘उनीहरुलाई खुद्रा तथा मदिराजन्य पदार्थलाई पनि अलग–अलग स्थानमा राखेर बिक्री गर्नकालागि लिखित प्रतिबद्धता गराएका छौँ ।’ बस्नेतका अनुसार खुद्रा तथा मदिराजन्य व्यवसाय दुबैको इजाजत लिएपनि फरक–फरक ठाउँमा राखेर सञ्चालन गर्नुपर्ने हुन्छ ।
खुद्रा व्यवसाय सञ्चालनकालागि हरेक व्यवसायीले गाविस, घरेलु तथा साना उद्योग विकास समितिमा र मदिराजन्य व्यवसाय सञ्चालनका लागि कोलेनिकाबाट इजाजत लिनुपर्ने प्राबधान छ । कोष तथा लेखा नियन्त्रक कार्यालय, इलाका प्रहरी कार्यालय खोटाङबजार, गाबिस कार्यालय र उद्योग बाणिज्य संघ खोटाङबजारका प्रतिनिधि सम्मिलित टोलीले बजार अनुगमन गरेको हो ।