बैशाख–११, खोटाङमा दुई दिनदेखि विद्युत अवरुद्ध भएको छ । उदयपुरको साउने जंगलको डुडीखोलामा हावाहुरीका कारण रुख ढल्दा रुखले किचेर दुईवटा पोल भाँचिएपछि बुधबार बेलुकादेखि विद्युत अवरुद्ध भएको हो ।
उदयपुरको जलजलेदेखि –खोटाङको दिक्तेलसम्मको ११ केभी विद्युत प्रशारण लाईनको पोल ढलेपछि जिल्लामा विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण शाखा खोटाङले जनाएको छ । विद्युत अवरुद्ध भएपछि जिल्लाका ३४ गाविसका ९ हजार ७ सय ५० भन्दा बढि उपभोक्ता मारमा परेका छन् ।
जंगलको बीचमा विद्युतको भाँचिएकाले विद्युत सुचारु हुन केही दिन लाग्ने नेपाल विद्युत प्राधिकरण शाखा खोटाङका कर्मचारी दिपक दाहालले बताउनुभयो । अवरुद्ध विद्युत सुचारु गराउनका लागि गाईघाटबाट प्राविधिकको टोली खटिएको भएपनि तत्काल पोल ल्याउन नसकेका कारण विद्युत सुचारु गर्न समय लाग्ने प्राधिकरण शाखा खोटाङले जनाएको छ ।
त्यस क्षेत्रमा सदरमुकाम दिक्तेल र उदयपुरबाट टाढा भएकाले तत्काल अवरुद्ध विद्युत सुचारु गराउन समस्या हुने गरेको कर्मचारी दाहालको भनाइ छ । विद्यूत अवरुद्ध भएपछि फोटो स्टुडियो तथा फोटोकपी सेन्टरका सञ्चालकहरुले उपभोक्ताबाट चर्को मूल्य अशुल्ने गरेका छन् । विद्यूत हुँदा पाँच रुपैयाँमा गरिने फोटोकपी दश रुपैयाँमा गर्ने गरिएको छ ।