बैशाख–१३, छोराको उपचार गर्नेक्रममा खोटाङको देविस्थान–६ का कुलबहादुर कार्की आफ्नो घर नपुगेको वर्ष दिन पुग्न लाग्यो । मुटुका बिरामी बनेका ९ वर्षीय छोरा रुद्रको उपचार गर्नेक्रममा घर छाड्नु भएका कार्कीको समय विभिन्न अस्पताल चाहार्न र आर्थिक सहयोग माग्दै बितिरहेको छ ।
डाक्टरहरुका अनुसार खुट्टा जोडिएको र नाकमुख पनि एकै ठाउँमा जोडिएको अवस्थामा जन्मिएका बालक रुद्रको मुटुको दुबै भल्भमा प्लाव परेको छ । छोराको यही मुटुको भल्भमा परेको प्वालको उपचार गर्नका लागि रुद्रबहादुरको रातदिन उपचारका लागि सहयोग माग्दैमा बित्छ, बितिरहेको छ ।
एउटी ८ वर्षकी र अर्की ६ वर्षकी छोरी गाउँका आफन्तलाई जिम्मा लगाएर गाउँबाट हिँड्नुभएका कार्की अहिले घरको अवस्थाको बारेमा अनविज्ञ हुनुहुन्छ । गत असोज–२३ गतेदेखि श्रीमती, एक छोरी र बिरामी छोरासहित हिँडेका कार्कीको बास कि अस्पतालको बेडमा हुन्छ, कि त आर्थिक सहयोग माग्न हिँड्दै जाँदा रात परेकै ठाउँमा हुन्छ ।
छोराको उपचार गर्ने र निको पार्ने सपनामा जिल्ला बाहेक राजधानीसम्म पुगेर उहाँले सहयोगको हात थाप्नुभएको छ । खेतीपातीका काम गर्दै आफ्नो जिविको पार्जनका काम गर्दै आउनुभएका कार्की छोराको उपचारकैक्रममा भएभरका सम्पत्ती सकिसकेको बताउँनुहुन्छ । हालसम्म आर्थिक सहयोग प्राप्त भएबाहेक छुट्टै २ लाख ऋण परेको कार्कीले बताउनुभयो ।
छोराको उपचार गर्नकालागि धरान र काठ्माडौंको नाम चलेका बिभिन्न अस्पताल चाहार्दा–चाहार्दै हालसम्म ८ लाखभन्दा बढि खर्च भइसकेको कार्कीको भनाइ छ । छोराको उपचारकालागि कार्कीले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठ्माडौंको कान्ति बाल अस्पताल, बालमैत्री, गंगालाल, शिक्षण, मोडल, बी एण्ड बी जस्ता अस्पताल धाइसक्नु भएको छ, तर बालक रुद्रको स्वास्थ्यमा अझै सुधार आउन सकेको छैन ।
निम्न आर्थिक अवस्था देखेर कतिपय अस्पतालले सहुलियतमा उपचार सेवा दिएको उहाँ सुनाउँनुहुन्छ । मुटुको एउटा भल्भको शल्यक्रीय सफल भएपनि अर्को भल्भको उपचार गर्नकालागि अहिले आर्थिक समस्या परेको उहाँले बताउनुभयो ।
छोराको उपचार गर्ने र निको पार्ने सपनामा घरबारी रित्याएका कार्कीले सरकारसँग सहयोगको याचना गर्नुभएको छ । सरकारको सहयोग मिले छोराको उपचार सफल हुने र पुःर्नजन्म पाउने उहाँको आशा छ ।
कार्कीको छोराको उपचारकालागि सिटिजन बैंकमा खोलिएको खाता नम्बर ०२००००००२२ एमयुमा रकम जम्मा गरेर सहयोग गर्न सकिन्छ । यसबाहेक निजी मोबाइल नम्बर ९८१५७६८६४८ मा सम्पर्क गरेर पनि सहयोग गर्न सकिने कार्कीले बताउनुभयो ।
सहयोग रकम माग्दै आइपुगेका कार्कीको सहयोगकालागि खोटाङको रुपाकोट एफएमले महिना दिनसम्म ‘सहयोगको अपिल’ स्वरुप सुचना प्रशारण गरेर सहयोग गरेको थियो ।