बैशाख–१६, खोटाङको सदरमुकाम दिक्तेलबजार नजिक रहेको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीस्थित कालिकादेविस्थान र बुधेश्वर महादेवको विषयमा लेखिएको पुस्तक विमोचन भएको छ । निबृत्त सरकारी वकिल पदमप्रसाद आचार्यको संकलन र लेखनमा प्रकाशन भएको ‘कालिका भगवतीको उत्पत्ति र पूजा विधि एक चिनारी’ नाम पुस्तक विमोचन गरिएको हो । 
जिल्ला अदालत खोटाङका न्यायधिस इश्वरीप्रसाद गौतम, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल र ज्येष्ठ नागरिक संघका सभापति देवीप्रसाद आचार्यले सोमबार संयुक्त रुपमा पुस्तक विमोचन गर्नुभएको हो । विभिन्न पाँच खण्डमा समेटिएको चिनारी पुस्तकमा कालिका भगवतीको उत्पत्ति, पूजा विधि, बुधेश्वर महादेवको उत्पत्ति, लालमोहर, सियामोहर, पर्यटनको सम्भावना लगायतका विषयमा वर्णन गरिएको छ । 
१०६ पेज रहेको पुस्तकमा १७ औं शताव्दीतिर दिक्तेलका बिरञ्ची आचार्य र लफ्याङका रनबीर राईको सपना अनुशार कालिका देबिस्थानको पत्ता लागेको उल्लेख छ । हालसम्म आचार्य पुजारी रहने परम्परा रहँदै आएको देबिस्थानमा रोगव्यधीबाट मुक्ती पाउन, जागीर पाउन, परीक्षामा उत्तिर्ण हुन, नोकरीमा पदोन्नती पाउन, सफलता पाउनकालागि भाकल र पूजाआजा गर्ने प्रचलन छ । 
पश्चिमतर्फ ऐतिहाँसिक गढी रहेको भगवती देविस्थान मन्दिरबाट सदरमुकाम दिक्तेल, हिमश्रृंखला, पहाडी गाउँ, नदीनालाको दृश्यावलोकन गर्न सकिन्छ । जिल्लाकै धार्मिक तथा पर्यटकीय स्थलकारुपमा रहेको देबिस्थानमा पाठी र फलफुल चढाएर पूजाआजा गर्ने परम्परा छ । पुस्तकले कालिका देबस्थानको धार्मिक तथा पर्यटकीय विषयलाई उजागर गरेको सरस्वति उच्च माबिका प्राचार्य राजनसेर राईले समिक्षा गर्नुभएको थियो । 
३३ वर्षसम्म सरकारी सेवामा काम गरेपछि सेवा निबृत्त भएका आचार्यको पुस्तकमा मकवानपुरका सेन वंशीय राजाबाट दिक्तेलका रामचन्द्र आचार्यले सो देविस्थान रहेको जग्गा विर्तास्वरुप भएको उल्लेख गरिएको छ । दिक्तेल–३, उर्लेनीमा २०१२ सालमा जन्मिएका लेखक हाल चाबहिल काठ्माडौंमा बस्दै आउनुभएको छ ।