जेष्ठ–१, किरात समुदायको महान पर्व साकेला उभौली शुरू भएको छ । पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापा, मोरङलगायत किरात समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामकासाथ साकेला मनाइदै छ ।
किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायमा ‘खेतीपाती सप्रियोस, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति आइनलागोस्’ भन्ने कामनामा पितृ तथा भूमीको पूजाआजा गरी साकेला पर्व मनाउने प्रचलन रहिआएको छ । साकेला पर्वको अवशरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाई, दिदिबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउदै साकेला नाच्ने गरिन्छ ।
साकेला थानमा पितृभूमीको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाचिन्छ । अहिले किरात बसोबास रहेको प्रतेक गाउँ युवा युवती, केटाकेटी, बुढापाकाको जमघट तथा साकेला गीत र नाचले गुञ्जयमान बनेको छ ।