जेष्ठ–३, राजनीतिक दल संलग्न भवन निर्माण समितिले अनियमित गरेपछि अलपत्र बनेको खोटाङको सदरमुकाम दिक्तेलस्थित आदिवासी जनजाति संग्रहालय भवन नबन्ने भएको छ । दुई वर्षअघि सुरु भवनमा दलसंलग्न समितिले अनियमितता गरेपछि अख्तियारमा उजुरी परेकाले थप रकम छुट्टयाउन नमिल्दा अलपत्र  भवन नबन्ने निश्चित भएको हो ।
भवन निर्माणमा अनियमितता गरेको भन्दै अख्तियार र जिल्ला प्रशासनमा उजुरी समेत परेको थियो । संग्रहालय भवन निर्माणमा किर्ते हस्ताक्षर गरी रकम निकासा गरेको भन्दै अख्तियार र प्रमुख जिल्ला अधिकारी समक्ष उपभोक्ता समितिकै कोषाध्यक्ष रामकमारी राईले उजरी दिनुभएको थियो । 
कोषाध्यक्ष राईले दुई वर्षअघि निर्माण उपभोक्ता समितिका अध्यक्ष जयबहादुर राई, काम गर्ने व्यक्तिद्वय विष्णुराज राई र भक्तकर्ण राईले किर्ते हस्ताक्षर गरी रकम निकासा गरेको भन्दै अख्तियारमा उजुरी दिनुभएको हो । उनीहरूमध्ये जयबहादुर राई र भक्तकर्ण राईको मृत्यु भइसकेको छ । 
संग्रहालय भवन निर्माण उपभोक्ता समितिको दिक्तेलस्थित राष्ट्रिय वाणिज्य बैंकमा रहेको चल्ती खाता नम्बर २५८३ को रकम किर्ते गरी पटक पटक गरी १३ लाख ८३ हजार निकासा गरिएको कोषाध्यक्ष राईले बताउदै आउनुभएको छ । गुणस्तरहीन भवन बनेकाले आफूले रकम निकासा गर्न हस्ताक्षर नगरेको तर किर्ते गरेर रकम निकासा गरिएकाले उजुरी दिन बाध्य भएको उहाँको भना छ । 
बैंकको स्टेटमेन्टमा २०६७ साउन ३१ गते दुई लाख ५० हजार, असोज २१ गते तीन लाख, चैत १ गते एक लाख ८० हजार र २० गते ८३ हजार रूपैंयाँ निकासा गरिएको छ ।