जेष्ठ–६, पूर्वको पशुपतिनाथ भनेर चिनिने खोटाङको पर्यटकीय स्थल हलेसीमा पहिलोपल्ट ल्याण्डलाईन टेलीफोन बिस्तार गरिएको छ । ग्राहकको माग र पर्यटकहरुको असुविधालाई मध्यनजर गर्दै नेपाल टेलीकमले ल्याण्डलाईन टेलीफोन बिस्तार गरेको हो ।
टेलिकमले पहिलो चरणमा हलेसी क्षेत्रका विभिन्न ठाउँमा ७५ वटा ल्याण्डलाईन टेलीफोन बिस्तार गरेको छ । उपभोक्ताको माग आए नजिकका गाउँमा समेत बिस्तार गर्न सकिने नेपाल टेलीकम जिल्ला शाखा खोटाङका प्रमुख भरोसी साहले बताउनुभयो । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीहरूको त्रिधार्मिक स्थलका रुपमा प्रशिद्ध हलेसीमा टेलीफोन बिस्तार भएपछि बजारबासी तथा हलेसी आएका आन्तरिक तथा बाह्य पर्यटक लाभान्वित भएका छन् । नेपाल बाहेक जापान, अमेरिका, थाइल्याण्ड, भारत, भुटान, चीन लगायतका पर्यटक आउने हलेसीमा यस अघि टेलीफोन असुविधा थियो ।
उपभोक्ताको बढ्दो मागसँगै जिल्लाका अन्य क्षेत्रमा समेत टेलीफोन सेवा बिस्तार गर्ने तयारी गरिएको साहले बताउनुभयो । साहका अनुसार जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्कमा पनि बितरण गर्ने तयारी भइरहेको छ । टेलीकमका अनुसार हाल जिल्लामा ६ सय भन्दा बढि थान ल्याण्डलाई र करिब एक लाख ५० हजार बढि मोवाईल सञ्चालनमा छन् ।