जेष्ठ–६, एक सेवाग्राही महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालय खोटाङका एक खरिदार पक्राउ परेका छन् । राहदानी बनाउन आएकी एक महिलालाई सदरमुकाम दिक्तेलस्थित लाक्पा होटलमा लगेर जबरजस्ती करणी गरेको अभियोगमा प्रशासनका खरिदार कर्णाखर आचार्य सोमबार साँझ पक्राउ परेका हुन् ।
पीडित महिलाले दिएको उजुरीको आधारमा आचार्यलाई सदरमुकाम दिक्तेलबाटै पक्राउ गरिएको जिल्ला प्रहारी कार्यालय खोटाङका प्रहरी निरीक्षक रमेश देवले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका आचार्यलाई स्वास्थ्य परीक्षणपछि हिरासतमा राखेर अनुसन्धान थालिएको छ । पीडित महिलाका अनुसार आचार्यले प्रशासन कार्यालय नजिकै रहेको लाक्पा होटलमा लगेर जबरजस्ती करणी प्रयास गरेको हो । उहाँले भन्नुभयो,– ‘राहदानी बनाउन सदरमुकाम आएकी थिएँ, कुनै जानकारी नभएपछि सोधीखीजी गर्दा उनले मलाई बोलाएर होटलमा लग्यो, अनि बियर मागेर खाएपछि मैमाथि करणी प्रयास ग¥यो ।’
यसबारे पीडितको उजुरीको आधारमा कारबाही हुने प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो,– ‘आफ्नो कर्मचारी भन्दैमा कुनै रोकतोक हुँदैन, बरु सर्वसाधारणलाई भन्दा कडा कारबाही हुनुपर्छ ।’ उहाँले थप्नुभयो,– ‘पीडित महिला आफूकहाँ रुँदै आएकाले त्यसमा कुनै तुक छैन भन्नेमा म विश्वस्त छु, कानून अनुसार कारबाही गर्न प्रहरीलाई निर्देशन समेत दिइसको छु ।’
प्रशासनका अनुसार आईतबार मादक पदार्थ सेवन गरेर पक्राउ परेका आचार्य कार्यालयमा हाजिर भएका थिएनन् । उनी मादक पदार्थ सेवन गरेको अवस्था पटक–पटक पक्राउ पर्ने गरेका थिए ।