जेष्ठ–१०, श्रीमतीले प्रहार गरेको टेलीभिजनको टुक्राले लागेर मृत्यू भएको भनिएका खोटाङ डम्बर्खुसिवालय–२  का अमर राईको आफन्तले राईको मृत्यूलाई ‘शंकास्पद’ मानेका छन् । श्रीमती तस्बिरा राईले प्रहार गरेको टेलीभिजनको टुक्राले लागेर मृत्यु भएको भनिएका मृतक राईको शरीरमा देखिएको चोट, नील र डामका आधारमा आफन्तले हत्यालाई शंकास्पद मानेका हुन् । 
मृतक राईको निधार, नाक, देब्रे कुम, देब्रे हातको पछाडि र टाउको पछाडिको भागमा एकदेखि चार सेन्टिमिटर लामो चोट लागेको, छातीको दुबैतर्फको छाला खुइलिएको, अण्ड कोष सुन्निएको देखिएकाले मृत्यु शंकास्पद बनेको मृतकका भाई रमेश राईले बताउनुभयो । ससुराली घर बाम्राङ–३ मा बस्दै आएका राईको गत जेठ ५ गते राती श्रीमतीले प्रहार गरेको टेलीभिजनको शिशाको टुक्राले लागेर ज्यान गएको बताइएको थियो । 
मृतकको शरीरभरी देखिएको चोटका आधारमा राईको हत्यामा एक्लो श्रीमतीको मात्र नभइ अन्यको पनि संलग्नता रहेको मृतकका आफन्तको दाबी छ । मृतकको शरीर भरी चोट र निलडाम देखिनु तर हत्याराको शरीरमा कुनै पनि चोटपटक नदेखिनुले हत्यामा अरुको संलग्नता रहेको आशंका बढेको मृतकका भाइ रमेशले दाबी गर्नुभयो । गत सोमबार राती मृत्यु भएका मृतक राईको बिहिबार मात्र पोष्टमार्टम गरिएको थियो । 
घर झगडा भएको रिसको झोकमा टेलीभिजन फुटाएका अमरलाई श्रीमतीले फुटेको टेलीभिजनको शिशाको टुक्रा उठाएर प्रहार गरेको स्थानीयको भनाइ छ । प्रहरीका अनुसार टेलीभिजनको टुक्राले लागेर अमरको घटनास्थलमै मृत्यु भएको थियो । हत्यामा संलग्न श्रीमतीलाई प्रहरीले सोही रात पक्राउ गरिसकेको छ । 
राईको मृत्यू ‘शंकास्पद’ देखिएको भन्दै मृतकका आफन्तले बिहिबार जिल्ला प्रहरी कार्यालय खोटाङमा अन्य दोषीहरु पनि पत्ता लगाउन र कानूनी दायरामा ल्याउन उजुरी दिएका छन् । घटनाका विषयमा अनुसन्धान भइरहेको र यसबारेमा केही भन्न नसकिने प्रहरी निरीक्षक रमेशकुमार देवले बताउनुभयो ।