जेष्ठ–११, खोटाङको पर्यटकीयस्थल हलेसीको सम्भाव्यता अध्यायनको तयारी गरिएको छ । पर्यटन प्रबद्र्धनकालागि किरात, हिन्दु र बौद्धको त्रि–धार्मिक स्थलकारुपमा रहेको हलेसीको सम्भाव्यता अध्ययनको तयारी गरिएको हो ।
हलेसीको पर्यटन विकास तथा प्रबद्र्धनकालागि जिल्ला मालपोत कार्यालय खोटाङका प्रमुख बिनोद गेलालको संयोजकत्वमा एक समिति गठन गरिएको छ । अध्ययन समितिले हलेसीको श्रोतसाधन, सम्भावना, चुनौती, गुरु योजना लगायतका विषयमा बिस्तृत अध्यायन गरेर प्रतिबेदन तयार गर्ने छ ।
हलेसी धार्मिक गुठीको जग्गा अतिक्रमण, भेटीपातीको व्यवस्थापन लगायतमा समस्य बढ्दै गएपछि अध्यायन समिति गठन गरिएको हो । अध्ययनपछि समितिले प्रशासनलाई बुझाउने सुझावका आधारमा हलेसीको विकासका काम शुरु गरिने प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बताउनुभयो ।
समितिले २०४३ सालमा बनेको गुरु योजनाको खोज, संरक्षित क्षेत्र घोषणका लागि विश्व सम्पदा सूची समक्ष माग गर्ने प्रमुख जिल्ला अधिकारी सापकोटाको भनाई छ । समितिले हलेसीको गुरु योजना निर्माण भइसकेको भए खोजी गर्ने र नबनेको भए बनाउनकालागि बिज्ञसँग छलफल गरेर सुझाव संकलन गर्ने छ ।