जेष्ठ–१७, सहिद मनोज जोशी स्मृती प्रथम खुला फुटबल प्रतियोगिता अन्तरगत शनिबार भएको क्वाटर फाईनल खेलमा बजरजङ्ग गण मुडे ब्यारेक र दिक्तेलबजार सामाजिक गुठी विजयी भएको छ । 
सदरमुकाम दिक्तेलस्थित माटीकोरे खेल मैदानमा भएको क्वाटरफाईनलको खेलमा दिक्तेल ईङ्ग्लिस बोर्डिङलाई शुन्यका विरुद्ध छ गोल गर्दै मुडे ब्यारेक विजयी भएको हो भने, अर्को खेलमा जालपा गाविसलाई दुई शुन्य गोल अन्तरले पराजित गर्दै दिक्तेलबजार सामाजिक गुठी विजयी भएको हो । दिउँसो दुई बजेबाट शुरु भएको मुडे ब्यारेक र बोर्डिङबीचको खेलमा मध्यान्तर अघि ब्यारेकका खेलाडीले एक गोल गरेका थिए । खेल शुरु भएसँगै भारी वर्षा भएपछि हिलाम्मे बनेको खेल मैदानमा भएको प्रतियोगितामा मध्यान्तरपछि लगातार ब्यारेकका खेलाडीले पाँच गोल गरे । जलमग्न खेल मैदानमा ब्यारेकका जर्सी नम्बर–१० का अबिन्द्र राई र जर्सी नम्बर–३ का खेलाडी संजिप दंगालले समान दुई–दुई गोल गर्न सफल भयो भने, जर्सी नम्बर–१२ का आनन्ददेव चौधरी र जर्सी नम्बर–७ का खेलाडी मनकुमार खड्काले एक–एक गोल गरेका थिए ।
शनिबार नै भएको क्वाटर फाईनलको अर्को खेलमा मध्यान्तर अघि जर्सी नम्बर–७ का खेलाडी शैलेन्द्र बजीमयले प्रहार गरेको सुट गोलमा परिनत भएपछि एक गोलको अग्रता पाएको दिक्तेलबजारको लागि मध्यान्तरपछि पुनः अर्को गोल गरेपछि जित सुनिश्चित भएको हो । बजीमयले खेल शुरु भएको आठ मिनेट १२ सकेन्डमा पहिलो र ३५ औं मिनेटमा दोश्रो गोल गरेका थिए । 
शनिबार भएको प्रतियोगितामा बोर्डिङका गोल रक्षक एलिन्द्र राई र गुठीका शैलेन्द्र बजिमय उत्कृष्ठ खेलाडी घोषित भएका थिए । रुपाकोट फुटबल क्लव र सहिद मनोज स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगिता अन्तरगत आईतबार सेमीफाईनलका खेल हुने आयोजक समितिका सचिव दिलीप तामाङले जानकारी दिनुभयो । सचिव तामाङका अनुसार दुर्छिम गाविस र मुडे ब्यारेक तथा दोर्पाचिउरीडाँडा र दिक्तेलबजारबीच खेल हुने छ । शुक्रबार भएको खेलमा सोल्मा स्पार्टस् क्लव सोल्मालाई दुई एकले हराउँदै दुर्छिम र साकेला क्लव रतन्छालाई एक शुन्यले हराउँदै दोर्पाचिउरीडाँडा सेमीफाईनलमा प्रवेश गरेको थियो ।
बुधबार शुरु भएको यो प्रतियोगिताको फाईनल खेल सोमबार हुने आयोजकले जनाएको छ । 
प्रतियोगिताका विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्ने छ भने, उपविजेताले ६६ हजार छ सय ६६ रुपैयाँ, तेश्रो हुने समुहले ३३ हजार तीन सय ३३ रुपैयाँ र सान्त्वनाले ११ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष कुमार आचार्यले बताए । अध्यक्ष आचार्यका अनुसार अन्य विभिन्न विद्याका उत्कृष्ट खेलाडीहरुले पनि पाँच हजार पाँच सय ५५ रुपैयाँका दरले पुरस्कार पाउनेछन् ।
सेभेन साईजको यो खेल नेपालकै ठूलो धनराशीको भएको आयोजकले दावी गरेको छ ।