जेष्ठ–१८, खोटाङको सदरमुकाम दिक्तेलमा जारी सहिद मनोज जोशी स्मृति प्रथम खुला पुरुष फुटबल प्रतियोगितामा जबरजङ्ग गण मुडे ब्यारेक र गाविसको कार्यालय दोर्पाचिउरीडाँडा फाइनल प्रवेश गरेको छ । आइतबार भएको सेमीफाइनलको खेलमा दुर्छिम गाविसलाई ट्राईब्रेकरमा पाँच–चारले पराजित गर्दै ब्यारेक फाइनलमा प्रवेश गरेको हो भने, दिक्तेलबजार सामाजिक गुठीलाई दुई–एकले पराजित गर्दै दोर्पाचिउरीडाँडा फाइनल प्रवेश गरेको हो ।
बिहान साँढे नौं बजेबाट शुरु भएको दुर्छिम र ब्यारेकबीचको सेमीफाइनल खेलमा दुवै टिमको तर्फबाट गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । ट्राईब्रेकरमा गणका सबै खेलाडीले गोल गरेका थिए भने, दुर्छिमको एक गोल गणका गोल रक्षकले बचाएका थिए ।
आइतबारै भएको दोर्पाचिउरीडाँडा र दिक्तेलबजार सामाजिक गुठीबीचको दोश्रो सेमीफाइनलको खेलमा दोर्पाचिउरीडाँडाका खेलाडी रञ्जन केसी र विजयसिंह महर्जनले एक÷एक गोल गरेका थिए । गुठीका तर्फबाट जितेन्द्र राईले एक गोल फर्काए पनि जितका लागि प्रयाप्त भएन ।
सहिद मनोज जोशी स्मृति प्रतिष्ठान र रुपाकोट फुटबल क्लवको संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल सोमबार हुने आयोजक मध्येका रुपाकोट फुटबल क्लवका सचिव दिलीप तामाङले जानकारी दिनुभयो । सचिव तामाङका अनुसार जबरजङ्ग गण मुडे ब्यारेक र दोर्पाचिउरीडाँडाबीच पहिलो र दोश्रो स्थानका लागि खेल हुनेछ भने, गुठी र दुर्छिम गाविस तेश्रो स्थानको लागि भिड्ने छन् ।
खेलकुदको विकास तथा खेल मैदानको मर्मत गर्दै युवाहरुको एकता र आत्मीयाताका लागि आयोजना गरिएको सहिद मनोज स्मृति प्रथम खुला पुरुष फुटबल प्रतियोगिता जिल्लाकै सर्वाधिक धन राशीको प्रतियोगीता हो । सेभेन साइजको खेल मैदानमा आयोजना गरिएको प्रतियोगिता नेपालकै ठूलो धनराशीको भएको आयोजकको दावी छ ।
प्रतियोगिताका विजेता समूहले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्ने छ भने, उपविजेताले ६६ हजार छ सय ६६ रुपैयाँ, तेश्रो हुने समुहले ३३ हजार तीन सय ३३ रुपैयाँ र सान्त्वनाले ११ हजार एक सय ११ रुपैयाँका साथमा शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । अन्य विभिन्न विद्याका उत्कृष्ट खेलाडीहरुले पनि नगद पाँच हजार पाँच सय ५५ रुपैयाँका दरले पुरस्कार पाउने आयोजक समितिका अध्यक्ष कुमार आचार्यले जानकारी दिनुभयो ।