जेष्ठ–२७, खोटाङको दिक्तेल नगरपालिकाको कार्यालय उद्घाटन गरिएको छ । गत जेष्ठ–११ गतेदेखि आफ्नो दैनिक कामकाज थालेको नगरपालिकाको सोमबार औपचारिक रुपमै कार्यालय उद्घाटन गरिएको हो ।
दिक्तेल गाविसको कार्यालय सञ्चालन हुँदै आएको भवनमा राष्ट्रिय झण्डोत्तोलन गर्दै प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले नगरपालिकाको कार्यालय उद्घाटन गर्नुभएको हो । कार्यकारी अधिकृत दिपक दाहाल आएपछि यसअघि दिक्तेल गाविसको कार्यालय सञ्चालन हुँदै आएको कार्यालयबाट नगरपालिकाको कामकाज थालिएको थियो ।
दिक्तेल, लफ्याङ, खाल्ले र बाम्राङ गाविस समेटिएको नगरपालिकाले १९ किसिमका सेवा प्रदान गर्ने जानकारी दिएको छ । सरकारले गत बैशाख–२५ गते घोषणा गरेको दिक्तेल नगरपालिकाभित्र चार गाविस गाभिएपछि खोटाङको गाविस संख्या ७२ मा झरेको छ ।