जेष्ठ–३१, खोटाङका पत्रकार उजुर राईकी आमाको रहस्यमय मृत्यु भएको छ । दिक्तेल नगरपालिका–८ का पत्रकार राईकी ७० वर्षीया आमा भैरमायाँ राईको बिहीबार राती रहस्यमय मृत्यु भएको हो । 
विगत छ वर्षदेखि घरमा एक्लै बस्दै आएकी आमाको रहस्यमय मृत्यु भएको पत्रकार राईले बताउनुभयो । नाक र कान लुछिएको अवस्थामा राईको शव शुक्रबार बिहान भेटिएको प्रहरीले जनाएको छ । आमाको हत्या गरेर साथमा रहेको १५ तोला सुन समेत लुटिएको पत्रकार राईले बताउनुभयो । आमाले लगाएको आठ तोलाको सिक्री, दुई तोलाको रिङ, हातको बाला, नाकको ढुङ्ग्री मुन्द्री र नगद समेत लुटिएको राईले बताउनुभयो । 
छिमेकमा प्राय सबै बुढापाका मात्र बस्ने हुनाले घटनाका बारेमा ढिलो जानकारी पाएको पत्रकार राईको भनाइ छ । उनका अनुसार वृद्धा बस्ने घर एकान्तमा रहेको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक रमेशकुमार देवले बताउनुभयो । मृतक राईको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ । 
राईको पाँच छोरा र दुई छोरी छन् । दुई छोरा र एक छोरी हङ्कङमा, एक छोरा कोरियामा र एक छोरा अधिकृतको जागिरे छन् । छुट्टिएर अर्कै घरमा परिवारसहित बस्दै आएका पत्रकार राई भने, नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङका सल्लाहकार सदस्य हुन् । लामो समयसम्म पत्रकारिता पेशामा आवद्ध उनी राजधानी दैनिकका खोटाङ संवाददाता हुन् ।