जेष्ठ–३१, प्राकृतिक तथा दैविक प्रकोपका घटनाको सूचना संकलनका लागि खोटाङमा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको छ । प्राकृतिक एवम् दैविक प्रकोपका घटनाहरुको सूचना लिएर पीडितको उद्धारका लागि जिल्लामा पहिलोपल्ट आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको हो ।
जिल्ला प्रशासनसँगै राखिएको केन्द्रले प्राकृतिक एवम् दैविक प्रकोपका घटनाका विषयमा जानकारी लिएर पीडितको उद्धार, पुर्नस्थापना तथा राहत वितरणका लागि पहल गर्ने छ । केन्द्रले प्रकोपका विषयमा जानकारी संकलन गर्नका लागि चौबीसै घण्टा खुला रहनेगरी टेलीफोन नम्बर ०३६–४२०६८१ सञ्चालनमा ल्याएको छ । 
जुनसुकै समयमा पनि केन्द्रलाई जानकारी दिन सकिने भएकाले पीडितलाई तत्काल उद्धार गर्न सकिने प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बताउनुभयो । केन्द्रमा प्राप्त जानकारीलाई केन्द्रले राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र काठमाडौंमा समेत पठाउने काम गर्नेछ । 
घटनाको प्रकृति अनुसार प्रकोप पीडितको उद्धार कार्य अघि बढाइने केन्द्रले जनाएको छ । यसका लागि प्रमुख जिल्ला अधिकारी सापकोटाको अध्यक्षतामा उद्धार समिति समेत गठन गरिएको छ । 
केन्द्र स्थापनासँगै जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, रेडक्रस लगायतकालाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले प्रकोप पीडितलाई राहत वितरण गर्न पाँच लाख माग गर्ने निर्णय पनि गरेको छ ।