जेष्ठ–३१, खोटाङको हौंचुरका किसानले लगाएको बालीनाली फौजी किरा (आर्मी वर्म) लागेपछि कृषकहरु चिन्तित बनेका छन् । दुई हप्तादेखि देखा परेको फौजी किराले छोटो समयमै हौंचुर–४ र ५ मा पर्ने हौंचुरबेँसीका तीन सय रोपनी जग्गामा लगाइएको बालीनाली बिनास बनाएपछि कृषकहरु चिन्तित बनेका हुन् । 
गाढा हरियो रंगमा अलि–अलि पहेँलो रङ मिसिएको र पिठ्यूँतिर शिरदेखि पुछारसम्म तीनवटा धर्सा देखिने लाभ्रे आकारको किराले हौंचुरका तीन सयभन्दा बढि किसानले लगाएको मकै, धान, तरकारी लगायतका बालीनाली नष्ट बनाएको हौंचुर–४ का कृषक दुर्गाबहादुर कार्कीले जानकारी दिनुुभयो । उहाँले भन्नुभयो,–‘कहिलै नदेखिएको किराले बालीनाली सखाप पारेपछि के गर्ने के गर्ने भएका छौं ।’
रावा खोला किनारका खेतमा पाक्न लागेको मकै र रोप्नका लागि राखिएको धानको बीउ ताँतीकाताँती फैलिएको छिरबिरे रंगको फौजी किराले नाश गरेपछि कृषकहरु आतंकित भएका छन् । यसका बारेमा जिल्ला कृषि विकास कार्यालय खोटाङले पनि हौंचुरमा लगाइएको बालीनालीमा फैलिँदै गएको फौजी किराको प्रकोपका विषयमा किसानबाट जानकारी आएको जनाएको छ । 
लाम लागेर घस्रिँदै एक ठाउँबाट अर्को ठाउँमा पुग्ने करिब एक इञ्च लम्वाई भएको किराले छोटो समयमै धानको टुसाउँदै गरेको बीउ, मकैको पात र घोगा, फर्सी र त्यसको झाङ समेत खाइदिएको हौंचुर–४ का किसान भीमनारायण श्रेष्ठको भनाइ छ । श्रेष्ठका अनुसार सुरुमा बेँसीक्षेत्रको खेतको मकैको बिरुवामा देखिएको किरा क्रमशः माथिल्लो क्षेत्रका बालीनालीमा समेत फैलिन थालेको छ । 
फौजी किराले जुनसुकै प्रजातीको बालीनाली बिनास गर्ने कार्यालयका प्राविधिक सहायक हरिनारायण राईले बताउनुभयो ।