असार–६, व्यापारीहरुले दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धि गरेपछि जिल्लाका उपभोक्ता मर्कामा परेका छन् । तराईसँगको सिधा यातायात सेवा बिच्छेद र वर्षाका कारण सडक अवरुद्ध भएको बहानामा चामल, खाना पकाउने ग्याँस, दाल, तेल, चिनी, साबुन लगायत दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धि गरेपछि उपभोक्ता मर्कामा परेका हुन् ।
केही दिन अघिसम्म एक हजार चार सयदेखि एक हजार छ सय ५० रुपैयाँमा पाइने ३० केजीको अन्दाज चामलको मुल्य बढाएर एक हजार आठ सय पु¥याएको छ । एक हजार आठ सयमा पाइने खाना पकाउने ग्याँस दुई हजार दुई सय, एक सय १५ मा पाइने मुसुरो दाल एक सय ५० रुपैयाँ, ७० देखि ७५ रुपैयाँमा पाइने आधा लिटरको एक प्याकेट तोरीको तेल ८० रुपैयाँ, एक केजी चिनीको मुल्य बढाएर ८० रुपैयाँमा बिक्री गर्न थालेपछि आफूहरु ठगीमा परेको उपभोक्ताहरुको भनाइ छ । जिल्लाको उत्तरी गाविस खार्मीकी एक उपभोक्ता शान्ता राई भन्नुहुन्छ,–‘हामीहरुप्रति व्यापारीहरुले गरेको कालोबजारीकरणप्रति सम्बन्धित निकायले चासो नदिएकाले ठगीमा परेको हो ।’
खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दुधकोसी र ओखलढुङ्गाको हर्कपुर र उदयपुरको घुर्मीस्थित सुनकोसी नदीमा लगाइएको अस्थायी बेलीब्रीज झिकिनुका साथै वर्षाको पानीले सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धि गर्नु परेको व्यापारीहरुको भनाइ छ । व्यापारीहरु भन्छन्– ‘बेलीब्रीज झिकिएपछि तीन–तीन ठाउँ सामान लोडअनलोड गर्नुपर्ने भएकाले त्यहाँ लागेको खर्च पुर्ताल गर्न मुल्य वृद्धि गरिएको हो ।’
श्रोतका अनुसार जिल्लामा खपत हुने सम्पूर्ण सामाग्री हिउँदमै जिल्ला भित्र्याइएको छ । उसले भन्यो– ‘दुधकोसी र सुनकोसीमा लगाइएको अस्थायी बेलीब्रीज झिक्नुअघि नै जिल्लामा खपत हुने प्रयाप्त सामाग्री ल्याइन्छ अनि वर्षा लागेसँगै विभिन्न बहाना बनाएर सोही सामान मुल्य वृद्धि गरेर बिक्री गर्ने गरेको छ ।’
यस विषयमा उद्योग वाणिज्य संघसँग तत्काल बसेर मुल्य निर्धारण तथा बजार अनुगमन गरिने प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो– ‘यदि त्यस्तो भएको रै’छ भने, कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ ।’
बजारमा मुल्य वृद्धि भएको स्वीकार गर्दै उद्योग वाणिज्य संघ खोटाङका प्रथम उपाध्यक्ष उपिन राईले अब संघको पूर्ण बैठक बसेर न्युनतम् मुल्य निर्धारण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘व्यापारीहरुसँग पनि छुट्टै बैठक बसेर बुझ्छौं, उनीहरुबाट आएको सुझावको आधारमा समायोजन गरिनेछ ।’