असार–१५, कालोपत्रे गर्न लागिएको खोटाङको दिक्तेल–हलेसी सडक खण्ड आसपासका जग्गा धनीलाई मुआब्जा वितरण गर्न थालिएको छ । दिक्तेल–हलेसी क्षेत्रमा पर्ने सडकले मिचेका नौं गाविसका नौं सय सात घर परिवारलाई आईतबारदेखि मुआब्जा वितरण कार्य शुरु गरिएको हो । 
हलेसी–दिक्तेल सडक आयोजनाले पहिलो दिन नुनथलाका फुर्वादोर्जी शेर्पा, दिक्तेलका कोपिला आचार्य र बाम्राङका शिवहादुर थापालाई मुआब्जा दिएर जग्गाको मुआब्जा वितरणका कार्य सुरु गरेको हो । उनीहरुलाई सात लाख दुई हजार नौं सय ४० रुपैयाँ मुआब्जा वितरण गरिएको दिक्तेल–हलेसी सडक योजनाका नायव सुब्बा दामोदर आचार्यले बताउनुभयो । 
मुआब्जाका लागि यस आर्थिक वर्षमा आएको तीन करोड ७५ लाख रुपैयाँमध्येबाट जग्गा धनीलाई मुआब्जा दिन थालिएको आयोजनाले जनाएको छ । आगामी २० गतेभित्रमा यस आर्थिक वर्षको मुआव्जा वितरणका काम सम्पन्न गरिने नासु आचार्यको भनाइ छ । 
जग्गा प्राप्ती ऐन २०३४, जग्गाको भु–बनोटको अवस्थिति, मालपोतको रजिष्ट्रेसन, जग्गा किनबेच, जग्गाको सरकारी दररेट, मुआव्जा वितरणका लागि यसअघि गरिएका निर्णयको अवलोकन, मुआव्जा निर्धारण उपसमितिको प्रतिबेदन लगायतका आधारमा जग्गा धनीलाई मुआब्जा दिन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बताउनुभयो । एसियाली विकास बैंक (एडिबि)को आर्थिक सहयोगमा दिक्तेल–हलेसी सडक खण्डलाई कालोपत्रे गर्ने प्रकृया थालिएसँगै सडक आसपासका जग्गा धनीलाई मुआब्जा दिन सुरु गरिएको हो ।