असार–२२, कडा सुरक्षाकर्मीको घेराबन्दीमा नेपाली कांग्रेस क्षेत्रीय सभापतिको अधिबेशनमा शुरु भएको छ । दुई पक्षबीच हुनसक्ने सम्भावित झडप नियन्त्रणका लागि कडा सुरक्षाकर्मीको घेराबन्दीमा खोटाङ क्षेत्र नम्बर–२ को क्षेत्रीय सभापति चयनका लागि अधिबेशन शुरु भएको हो ।
क्षेत्रीय सभापति पदका लागि तिर्थराज भट्टराई र भूपेन्द्र राईको उम्मेदवारी परेको छ । बिहान ८ बजे उम्मेदवारी दर्ता गराएका उनीहरुबीच मध्यान्ह १२ बजेबाट मतदान शुरु हुने निर्वाचन मण्डलले जनाएको छ । निर्वाचनमा दुवै उम्मेदवारले जित आफ्नो हुने दावी गरेका छन् । भट्टराईलाई जिल्ला सभापति विष्णुकुमार राई पक्षको समर्थन छ भने, राईलाई पूर्व वनराज्यमन्त्री शिवकुमार बस्नेत पक्षको समर्थन छ । 
संविधानसभाको दोश्रो निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विष्णुकुमार राईका बिरुद्ध बागी उम्मेदवार दिएको आरोपमा क्षेत्र नम्बर–२ का तत्कालीन सभापति विष्णुराज राई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्काशित भएपछि रिक्त पदका लागि आईतबार अर्को अधिबेशन हुन लागेको काग्रेसले जनाएको छ । अधिबेशनलाई लक्षीत गर्दै शनिबारदेखि दिक्तेलबजारका चोकचोकमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी गोबिन्द सोपकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, –‘पार्टीभित्र विवाद देखिएकाले झडप हुने सम्भावना हुँदा सुरक्षा व्यवस्था कडा पारिएको हो ।’ 
पूर्व वनराज्य मन्त्री शिवकुमार बस्नेत सहित १७ जनामाथि अन्तरघात गरेको आरोप लागेसँगै उनीहरु समेत अधिबेशनमा आएकाले झडप हुने सम्भावना देखिएको एक नेताले जानकारी दिएका छन् । उनका अनुसार कारबाहीको सिफारिसमा परेका व्यक्तिहरु निर्वाचनमा सहभागी हुन खोजे प्रतिकार गर्ने तयारी छ ।
बागी उम्मेदवार दिएको र अन्तरघात गरेको भन्दै उनीहरुलाई कांग्रेस जिल्ला कार्य समितिले कारबाहीका लागि केन्द्रीय कार्यालय समक्ष सिफारिस गरेको थियो । अधिबेशन सम्पन्न गर्नका लागि केन्द्रीय निर्वाचन प्रतिनिधिकारुपमा अधिवक्ताद्धय चन्द्रमणी अधिकारी र विश्वास आचार्य खोटाङ आएका छन् । 
मतदान दिक्तेलको सरस्वति उच्च मावि पोखरीमा हुने कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईले बताउनुभयो । रिक्त रहेको क्षेत्रीय सभापतिमा तिर्थराज भट्टराईलाई चयन गरेपछि पार्टीभित्र बढ्दो आन्तरिक कलह हल गर्नका लागि कांग्रेसले अधिबेशनको बाटो अपनाएको हो । 
कांग्रेस क्षेत्र नम्बर–२ को सभापतिको रिक्त पदपूर्तीका विषयमा पार्टीभित्र चर्किदै गएको विवाद समाधानका लागि कांग्रेस जिल्ला कार्य सम्पादन समितिले अधिबेशन गर्ने निर्णय गरेको कांग्रेसका जिल्ला सदस्य प्रेमकुमार राईले बताउनुभयो । तत्कालीन सभापति विष्णुराज राई साधारण सदस्य समेत नरहनेगरी निष्काशित भएपछि सिम्पानीमा गत माघ–१६ र १७ गते आयोजना गरिएको क्षेत्रीय भेलामार्फत कांग्रेसले भट्टराईलाई रिक्त सभापति पदमा चयन गरेको थियो । 
विधान विपरित क्षेत्रीय समिति गठन गरेको भन्दै तत्कालीन जिल्ला सदस्य एवम् संगठन बिभाग प्रमुख भूपेन्द्र राई सहितका नेताहरुले बिरोध सुरु गर्नुभएको थियो । सो क्षेत्रीय समिति खारेजी र अधिबेशनको मागमा भूपेन्द्र नेतृत्वको समुहले केन्द्रीय कार्यालयमा सुरु गरेको रिले र आमरण अनशनलाई केन्द्रीय निर्वाचन समितिले ‘अधिबेशन गराउने’ शर्तमा तोडाएको थियो ।