स्थानीय तह कार्यान्वायनमा आएको एक बर्ष बितेको छ । स्थानीय तहको उपप्रमुख तथा उपाध्यक्षहरुलाई न्यायिक समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति, योजना तथा कार्यक्रमहरुको अनुगमन तथा सुपरीबेक्षण,  स्थानीय राजस्व परामर्श समितिको संयोजक लगायतको जिम्मेवारी र क्षेत्राधिकार तोकिएको छ । यसैबीच, खोटाङको पहिलो तथा ऐतिहासिक नगरपालिकाको रुपमा स्थापित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उप मेयर बिणादेवी राईलाई एक बर्षको कार्यानुभूति तथा आगामी योजना लगायतको बारेमा पाँच प्रश्न राखेका छौं । 


१, नगर उपप्रमुखको सपथ लिनुभएको एक बर्ष बित्दा के–कस्ता कार्यलाई महत्व दिनुभयो र के–के उपलब्धी भयो ?
– धन्यबाद् । हामीले निर्वाचित भई जनताको नाममा सपथ खाएको २०७५ असार १८ गतेका दिन एक बर्ष पूरा भएको छ । सर्बप्रथम त मलाई विश्वास गरी यो अवसर प्रदान गर्नुहुने सम्पूर्ण आदर्णिय नगरवासीमा हार्दिक आभार प्रकट गर्छु । मलाई उपमेयर पदमा विश्वास गरी निर्वाचित गराउनुभएकोमा धन्यवाद् । 
यस अवधीमा मैले जनप्रतिनिधिको हैसियतले सवै खाले समस्याहरुलाई उत्तिकै महत्वका साथ लिएको छु । नयाँ संरचना, पहिलो बर्ष नीति नियम निर्माणमा पनि धेरै समयहरु दिनुप¥यो । किनकी हामीले हरेक कुरालाई एकदमै नयाँ ढंगले ब्यवस्थापन गर्नु परेको छ । 
अब्यवस्थित नगरपालिकालाई ब्यवस्थित नगर निर्माण गर्ने अवधारणा बमोजिम हामी जुटिरहेका छौं । अहिलेको अवस्थावाट पाँच बर्षभित्र कस्तो नगर बनाउने भन्ने कुरा निर्धारण गर्न ‘समाजवाद उन्मुख सभ्य र समृद्द नगर : दिक्तेल रुमबासीको रहर !’ भन्ने नाराका साथ नगरपालिकाको आवधिक योजना निर्माण भईसकेको छ । यही योजनालाई आधार बनाएर ०७५/७६ को वजेट निर्माण गर्दैछौं । 
एक बर्षको अवधीमा सबै क्षेत्रको एकै साथ विकास गर्न नगरपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन पूर्वाधार विकास लगायतको क्षेत्रमा महत्वपूर्ण कार्य गरेको मेरो ठम्याई छ । बालवालिका, दलित, महिला, आदिवासी जनजाति जस्ता लक्षित बर्ग सबैको समावेशी विकास होस् भन्ने ध्ययेले सीप तथा आयमूलक गतिविधिको लागि तालिमहरु नगरपालिकाले सञ्चालन गरेको छ । 
जहाँसम्म उपलब्धीको कुरा गर्नुभएको छ, हामीले गरेको कामप्रति सबै जनता सन्तुष्ट छन् । त्यो नै हो उपलब्धी भन्ने लाग्छ । किनकी म एक जनप्रतिनिधि जनताको हितमा सँधै काम गर्ने उदेश्य भएकोले पनि उहाँहरुको खुशी नै उपलब्धी मान्छु ।

२, उपप्रमुखको जिम्मेवारी र अधिकार सन्तुलित छन ?

– उपप्रमुखको जिम्मेवारीमा रहेर काम गरिरहँदा अहिलेसम्म त्यस्तो असहजता महशुष गर्नु परेको छैन । बिगत भन्दा धेरै अधिकार उपप्रमुखको लागि प्रत्यायोजन भएको अवस्था छ । 
जस्तो, न्यायिक समितिको संयोजक, बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक, योजना तथा कार्यक्रमहरुको अनुगमन तथा सुपरीबेक्षण, स्थानीय राजस्व परामर्श समितिको संयोजक लगायत थुप्रै जिम्मेवारी र अधिकार उपप्रमुखलाई दिईएको छ । 
यो एउटा अवसर र चुनौति पनि हो । यो अवसरलाई बुझेर नै चुनौतिको सामना गर्न मानसिक रुपले नै तयार बनेको छु । 
मलाई जनताले निर्वाचित गराएको दिनबाट आजसम्म कहिल्यै आफ्नो जिम्मेवारी भुलेको छौन । जव–जव जनताको काम गरिरहन्छु तव आफ्नो जिम्मेवारी पूरा गरिरहेको महशुष हुन्छ । नगरको सबै जसो काममा प्रमुखसँगको समन्वय छ र हर क्षेत्रबाट सहयोग पनि गरिरहेको छु । यसो हुँदा व्यवहारिक हिसाबले समेत सन्तुलित नै रहेको पाउँछु ।

३, नगरपालिकाको न्यायिक समितिमा के–कस्ता  मुद्दा अर्थात बिवादहरु बढी आउने गरेका छन् ?

– स्थानीय सरकार सञ्चालन ऐनले न्यायिक समितिलाई तोकेको अधिकार क्षेत्रका बिवादहरु आएका छन् । हामीले पनि न्यायिक कार्यबिधि पास गरेका छौं । त्यही ऐनले तोकेको क्षेत्राधिकार भित्रको मुद्दाहरु हेर्ने गरेका छौं । जस्तै : लेनदेनको बिवाद तथा समस्या, खानेपानीको बिवाद तथा समस्या, साँध सिमाना बिवाद, श्रीमान–श्रीमति बिवाद । 
स्थानीय ऐनले स्थानीय बिवादहरुमा मेलमिलापको आधारलाई महत्व दिएको हुँदा सोही बिधिबाट मेलमिलाप गराउने प्रयास गर्दै आएका छौं । यही प्रयोजनको लागि नगरपालिकाको तर्फबाट प्रत्येक वडाका पुरुष र महिला गरी दुई÷दुई जनालाई मेलमिलाप सम्बन्धी तालिम समेत प्रदान गरिसकेका छौं । जनप्रतिनिधि तथा सर्बसाधारणलाई सहभागी गराईको तालिममा १५ वडाका ३० जना, नगरको न्यायिक समितिको ३ तथा महिला अधिकारकर्मी दुई जना गरी हामीले ३५ जनालाई तालिम प्रदान गरेका छौं । अव सोही तालिम प्राप्त ब्यक्तिहरु सम्मिलित गरी हरेक वडामा मेलमिलाप केन्द्र गठन गर्ने तयारी गरेका छौं ।

४,  न्याय सम्पादन तथा मेलमिलाप गर्ने÷गराउने कार्यमा आएका समस्या तथा चुनौतिहरु ?

– त्यस्तो धेरै चुनौतिहरु देखिएको छैन । बिवादको जड एकापट्टि भए पनि उजुरी अर्को ढंगले आउने गरेका छन् ।त्यो बिवादको चुरो कुरा बुझेर मेलमिलापको माध्यमबाट नै प्राय : मुद्दाहरुको समाधान गर्ने गरेका छौं ।

५, कार्यकालभरि के लाई प्राथमिकतामा राखेर कसरी काम गर्नुहुन्छ ?

– मेरो कार्यकालमा नगरपालिकालाई चाहिने ‘नम्स’हरु पूरा गर्दै नगरलाई नमुना बनाउन लाग्नु छ । प्रतिस्पर्धात्मक समयमा जसले छिटो र गुणात्मक कार्य गर्न सक्छ उही सफल बन्छ भन्ने कुरा बुझेको छु ।
स्थानीय तह लामो समयसम्म जनप्रतिनिधिविहिन अवस्थामा रहेको कारण जनताको अपेक्षा धेरै छन् र आवश्यक्ता पनि हो । तर मैले जहिले भन्ने गरेको छु की सबै कुरा एकै चोटी सम्भब हुँदैन । क्रमशः गर्दै जाने छु । यसमा सबैको साथ आवश्यक छ । 
प्राथमिकताको कुरा गर्नु पर्दा समस्या धेरै छन् । त्यो मध्ये पनि हामीले निर्वाचनमा प्रतिबद्दता पत्र (घोषणा पत्र) सार्वजानिक गरेका थियौं । त्यही कुराहरुलाई नै प्राथमिकताको आधारमा पूरा गर्दै जाने छु ।
त्यसमा पनि अझ म एउटा महिला भएको नाताले सामाजिक न्याय सहितको समाज निर्माण गर्न आधारभूत तहबाट महिलाहरुलाई सशक्त बनाउने कार्यक्रमहरु ल्याउने छु । गाउँका गरिव तथा सामान्य जीवनस्तर भएका महिलाहरुलाई माथि उठाउने प्रकारको कार्यक्रमहरु ल्याउने छु ।