असार–२६, खोटाङमा पहिलोपल्ट खोटाङ सरसफाई सम्बन्धी दुई दिने सम्मेलन शुरु भएको छ । सन् २०१६ सम्ममा जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने वातावरण तयार गर्न सरसफाई सम्मेलन सुरु गरिएको हो ।
सरसफाई अभियानमा सबैलाई एकजुट बनाएर सरसफाई सम्बन्धी जिल्लास्तरीय र राष्ट्रिय रणनीतिक योजनालाई सफल बनाउनका लागि सरसफाई सम्मेलनको आयोजना गरिएको खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालय खोटाङका प्रमुख देवेन्द्रकुमार झाले बताउनुभयो । उहाँले भन्नुभयो,–‘सरसफाई सम्वन्धी अभियानमा माहोल तयार गर्न सरसफाई सम्मेलनको आयोजना गरिएको हो, सम्मेलनका माध्यमबाट सबैको सामुहिक प्रतिबद्धता जुटाएर खुल्ला दिसामुक्त अभियानकालागि मार्ग प्रशस्त गर्ने छौँ ।’
क्षेत्रीय अनुगमन तथा सुरपरीवेक्षण कार्यालय धनकुटाका प्रमुख तथा क्षेत्रीय निर्देशक प्रताप शर्मा पौडेलले उद्घाटन गर्नुभएको सम्मेलन सरसफाई सम्वन्धी घोषणापत्र पारित गर्दै शुक्रबार सम्पन्न हुने छ । एक नगरपालिका र ७२ गाविस रहेको खोटाङका आठ गाविसलाई खुल्ला दिशामुक्त घोषणा गरिसकिएको छ ।
जिल्लाका ४२ हजार छ सय ४७ घर परिवारमध्ये २७ हजार भन्दा बढी घरमा चर्पी निर्माण भइसकेको झाले जानकारी दिनुभयो । खोटाङको सरसफाई सम्वन्धी अवस्था, सरसफाई गुरुयोजना २०६८ र सरसफाई सम्वन्धी दिगोपनाका आधारहरु, सफलताका आधार, सरसफाई आन्दोलनका गतिशिलता, सरसफाई सम्बन्धी विभिन्न जिल्लाका सफलताका आधारहरुका विषयमा प्रस्तुती एवम् खुल्ला दिसामुक्त घोषणाकाक्रममा भूमिका निर्वाह गरेका जिल्लाका गाबिस सचिवलाई सम्मान गर्दै सरसफाई सम्मेलन सम्पन्न गरिने आयोजकले जनाएको छ ।
जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको आयोजनामा भएको सम्मेलनमा राजनैतिक दल, सरकारी कार्यालय, गैससकर्मी, पत्रकार, गाविस सचिव, सामाजिक परिचालक गरी तीनय सय ५० भन्दा बढिको सहभागिता रहेको छ । ‘घर–घरमा चर्पी स्वास्थ्य र सरसफाई खोटाङबासीको सान, सन् २०१६ भित्र खुला दिसामुक्त जिल्ला बनाउने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सरसफाई सम्मेलन सुरु भएको हो ।