आफूले उत्पादन गरेको सुन्तला, अनार, कुरीलो, कागती, जुनार, निभूवा, अम्बा लिची लगायत फलफूलका बिरुवा घरैबाट बिक्री हुने गरेको आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो,–‘सुरुमा त त्यती राम्रो अम्दानी भएन तर, अहिले आएर वार्षीक सात लाख बढिको अम्दानी हुने गरेको छ ।’
अन्य बाली भन्दा कम मेहनत र हावापानीले पनि असर नगर्ने भएकाले आफूले फलफूलको नर्सरी लगाएको उहाँले बताउनुभयो । आचार्यका अनुसार उत्पादित फलफूलको नर्सरी प्रतिगोटा २० देखि ५० रुपैयाँमा घरैबाट बिक्री हुने गरेको छ ।
पाँच वर्षअघिदेखि सुरु गरेको नर्सरीबाट उत्पादित बिरुवा जिल्ला कृषि विकास कार्यालय खोटाङ, विभिन्न गाविसमा, छिमेकी जिल्ला भोजपूर र उदयपुरमा समेत बिक्री हुने गरेको आचार्यको भनाइ छ । नर्सरी खेतीसम्बन्धी धनकुटामा लिएको तालिमपछि आफ्नो नाङगो डाँडा फँडानी गरेर नर्सरी लगाएको आचार्यले जानकारी दिनुभयो ।
पछिल्लो समय उहाँको कमाइ देखेर छिमेकीहरु पनि आफ्नो पूरानो खेती प्रणालीलाई छाडेर आधुनिक खेती तर्फ लागेका छन् । उहाँ भन्नुहुन्छ,–‘जाँगर भए यही कामाउन सकिन्छ, कमाउन कै लागि किन अर्काको देश जाने !’
नर्सरी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उहाँले थप पाँच रोपनी जग्गामा समेत यसै वर्षबाट खेती गर्ने तयारी गर्नुभएको छ । जिल्लाका कृषकहरुबाट अत्यधिक माग आउन थालेपछि आफूले यसलाई बढाउने तयारी गरेको बताउनुभयो ।
जिल्लाका अगुवा कृषकका रुपमा पुरस्कृत भइसक्नुभएका उहाँले गाविसका नौंवटै वडामा कृषक समूह गठन गरेर नर्सरी लगाउने तरिकाको बारेमा जानकारी दिएको बताउनुभयो । उहाँले भन्नुभयो,–‘मेरो नर्सरी देखेर गाविस बाहेक अन्य क्षेत्रका कृषकहरुले समेत तालिम दिलाउन आग्रह गर्ने गरेका छन् ।’
जिल्लामा आफ्नै लगानीबाट उल्लेख्य प्रगति गरेको भन्दै तीन छोरा र एक छोरीकी बुबा आचार्यलाई जिल्ला कृषि विकास कार्यालय लगायत विभिन्न संघसंस्थाले सम्मान समेत गरीसकेको छ । आचार्य भन्नुहुन्छ,–‘आम्दानीको कुनै माध्यम नभएपछि थालेको नर्सरी खेतीबाट आएको रकमले छोराछोरी पढाइ खर्च र माछामासु खाएर बचत समेत गर्ने गरेको छु ।’