खोटाङ असार–२१ , कतारबाट काठमाण्डौं फर्किंदैछु भनेर नौं बर्षअघि फोन सम्पर्क गरेका खोटाङ मंगलटारका देवबहादुर बस्नेत सोही दिनदेखि बेखबर बनेका छन् । २०६६ सालको कुलपूजा देवालीमा घर आईपुग्छु भनेर फोन सम्पर्क गरेको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका बस्नेत हालसम्म सम्पर्कमा नआएका हुन् ।
वैदेशिक रोजगारीको शिलशिलामा २०६२ सालमा कतार पुगेका देवबहादुरले चार वर्षसम्म फोन, चिठी र पैसा पनि बेलाबेलामा पठाईरहने गरेको श्रीमति लेखकुमारी बस्नेतले बताउनुभयो । ती चार वर्षमा ऋण तिरेर घडेरी समेत किनेको परिवार जनाउँछन् । देवबहादुर विदेश गएको साल २ कक्षामा पढ्ने छोरा पुष्ष हाल १२ कक्षामा पढ्ने भइसकेका छन् । दुई छोरी मध्ये एकको बिहे भइसक्यो । कान्छी छोरी आठ कक्षामा पढ्छिन् । तर देव सम्पर्कमा नआउँदा परिवारमा अत्यास लागेको छ ।
श्रीमान हराएपछि तीन छोराछोरी र घर व्यवहारको जिम्मेवारी एक्लै सम्हाल्न गाह्रो भएको लेखकुमारी बताउनुहुन्छ । आउँदैछु भनेको श्रीमान त्यही दिनदेखि बेपत्ता बनेपछि लेखकुमारीमा अनेक तर्कना र आशंका उब्जने गरेको छ ।
लेखकुमारी भन्नुहुन्छ– ‘खै दोस्रो ल्याएर पो हो कि , कसैले मारिदियो कि, माया नै पो मारेको हो कि ?’ तर पनि एक दिन फर्केर आउने आशा नमारेको उहाँ सुनाउनुहुन्छ । जे भए पनि एउटा टुङ्गोको खबरको पर्खाईमा रहेको परिवारको भनाई छ ।
विदेश जाँदाका कुनै कागज पत्र नहुनका साथै काम गर्ने कम्पनीको नाम समेत थाहा नभएकोले देवबहादुरको खोजी गर्न पनि समस्या भएको छ ।