असार–३२, आगामी चैत्र मसान्तभित्र खोटाङ जिल्लालाई खुला दिसामुक्त जिल्ला बनाउने अभियानलाई सफल बनाउन पत्रकार खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति (जे–वाससीसी) गठन गरिएको छ । नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष दमन राईको संयोजकत्वमा नौं सदस्यीय समिति गठन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय खोटाङमा भएको स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममा आवद्ध पत्रकारहरुको एक भेलाले जे–वाससीसी गठन गरेको हो । समितिको सदस्य सचिवमा खोटाङ खबर साप्ताहिकका सम्पादक दिलीप खत्री, सदस्यहरुमा राष्ट्रिय समाचार समितिका खोटाङ सम्वाददाता केदार मगर, रुपाकोट साप्ताहिकका सम्पादक रामधन राई, रुपाकोट रेडियोका बुलेटिन सम्पादक सुर्य तामाङ, सम्वाददाता सर्मिला विश्वकर्मा, हलेसी एफ.एमका निमित्त स्टेशन मेनेजर उजिर कार्की, समाचार संयोजक उत्तम चौलागाँई र हलेसी साप्ताहिकका सम्पादक हरिबोल आचार्य रहेका छन् ।
यस्तै, उक्त भेलाले तीन सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । कान्तिपुर दैनिकका उपसम्पादक डम्बरिसं राई, रुपाकोट रेडियोका स्टेशन मेनेजर टंक थापा र नवसंवाद पाक्षिकका सम्पादक कृष्ण आचार्य सल्लाहकार समितिमा रहेका छन् ।
जिल्लालाई खुला दिसामुक्त बनाउने प्रतिवद्घतालाई पूरा गर्न सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका रहने भएकाले समिति गठन गरिएको जिल्ला खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालय खोटाङका ईन्जिनियर तथा खानेपानी स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्रकुमार झाले बताउनुभयो । उहाँले भन्नुभयो,–‘अभियान सफल पार्न पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने भएकाले जे–वाससीसी गठन गरिएको हो ।’
गत असार २७ गते सम्पन्न दुई दिने जिल्ला सरसफाइ सम्मेलनमार्फत १८ बुदे खोटाङ घोषणा–पत्र तयार गर्दै जिल्लाका एक नगरपालिका र ७२ गाविसलाई खुला दिसामुक्त बनाउने प्रतिवद्घता जनाइएको छ । यसको लागि पत्रकार तथा सञ्चारको क्षेत्रबाट आफूहरु सक्रिय रुपमा लागि पर्ने जे–वाससीसीको संयोजक तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङका अध्यक्ष राईले बताउनुभयो ।
चैत्र मसान्तभित्र जिल्लालाई खुला दिसामुक्त बनाउन जारी रहेको पूर्ण खोप अभियान, पूर्ण साक्षरता अभियान तथा घरभित्रको धुवाँमुक्त अभियानलाई एकैसाथ अघि बढाउने बैठकले निष्कर्ष निकालेको छ । अभियानलाई सफल पार्न आ–आफ्ना कार्यालय तथा क्षेत्रबाट लागी पर्ने सहभागी राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघ संस्था लगायतले प्रतिवद्घता जनाएका छन् ।