साउन–३, औंसा किराले आँप नष्ट बनाएपछि यस वर्ष खोटाङका कृषकहरुलाई करोडौंको क्षति भएको छ । फल लाग्नासाथ खान सुरु गरेको औंसा किराले जिल्लाका सबै क्षेत्रमा लगाइएको आँप नष्ट पारेपछि करोडौं क्षति भएको हो ।  
यसबारे कृषि कार्यालयमा पटक–पटक जानकारी गराउँदा समेत चासो नदिएको हौंचुर–७ का कृषक गोकुल नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो,–‘हाम्रै लागि खटिएका कर्मचारीले नै यसो गरेपछि कहाँ गएर कुरा गर्ने ? यसप्रति राजनीतिक दल विशेष चासो दिनुप¥यो ।’
यसबारे कृषकहरुले समयमा जानकारी नगराएकाले यस्तो समस्या आएको जिल्ला कृषि विकास कार्यालय खोटाङका प्राविधिक सहायक कौशलकुमार साहले बताउनुभयो । उहाँले भन्नुभयो,–‘कार्यालयमा आएका कृषकहरुलाई किरा मार्ने विधि र औषधि समेत पठाएका हौं ।’
किरा लागेपछि यस वर्ष आफूले लगाएको मात्रै पाँच लाख बढिको आँप क्षति भएको हौंचुर–८ का कृषक डिल्लीसेर राईले बताउनुभयो । उहाँले भन्नुभयो,–‘फल लागेको हेर्दा ज्यादै हर्षित भएका थियौं, जब पाक्ने बेला भयो ! सबै फलमा किरा लागेपछि आसैआसमा नेत्रबास भनेझै भयो ।’
कार्यालयका अनुसार जिल्लामा दुई सय ६५ हेक्टर क्षेत्रफलमा आँप खेती गरिएको छ । आँप खेतीका लागि पकेट क्षेत्र मानिएको गाविसहरुमा यस मात्रै तीन हजार भन्दा बढि बिरुवा बाँडिएको प्राविधिक सहायक साहले बताउनुभयो । 
जिल्लामा उत्पादित आँपमा किरा लागेपछि चर्को मुल्य तिरेर बाहिरबाट बिक्रीका लागि ल्याउनु परेको सृजनशिल तरकारी तथा फलफूल बिक्री केन्द्र दिक्तेलका सञ्चालक चुडामणि गदालले बताउनुभयो । उहाँले भन्नुभयो,–‘जिल्लामा ६० देखि ८० रुपैयाँमा पाइने आँप बाहिरबाट ल्याउँदा दोब्बर तिरेर ल्याउनुपर्छ ।’