साउन–३, नेपाल सितोरियो कराते संघ खोटाङले सितोरियो कराते दिक्तेल डोजोलाई सितेरियो कराँते सम्बन्धिका साँढे चार लाख बढिको खेल सामाग्री प्रदान गरेको छ । संघले विभिन्न व्यक्ति तथा संघ संस्थाबाट संकलन भएको ३ लाख ६५ हजार ८ सय रकमबाट खरिद गरिएको तथा विभिन्न व्यक्तीबाट प्राप्त भएको ९२ हजार ६ सय मूल्यको सामाग्री जुटाएर हस्तान्तरण गरेको हो । 
संघले आर्थिक संकलनबाट खरिद गरिएको ७० थान तातामी म्याट, ६० थान ट्रयाक सुट, एकथान किक ब्याग, ५० थान गमसिल, एक थान फस्र्ट एड बक्स, ५६ थान स्कोर सिट, एक थान स्कोर बोर्ड, तीन थान स्टील दराज लगायतका सामाग्री हस्तान्तरण गरेको छ । शनिबार सदरमुकाम दिक्तेलस्थित माटीकोरे कवर्ड हलमा आयोजना गरिएको ‘खेल सामाग्री हस्तान्तरण तथा पत्रकार सम्मेलन’ कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन राईले डोजोका प्रमुख प्रशिक्षक बिचारी तामाङ र सहायक प्रशिक्षक गोपाल राईलाई खेल सामाग्री हस्तान्तरण गर्नुभएको थियो । 
यस्तै, विभिन्न व्यक्तिबाट प्राप्त भएको २५ जोर कराते गी, २२ थान करातेको झण्डा, २५ थान प्लाष्टिक कुर्सी, एक थान ऐना, एक थान प्लेयर भिक्टोरी स्ट्याण्ड, दुई सेट ह्याण्ड किक व्याग र एक थान प्लाष्टिक टेबल हस्तान्तरण गरेको छ । जिल्लाका खेलाडीले भोग्दै आएको खेल सामग्रीको अभाव हल गर्दै करातेको बिकासकालागि सामग्री जुटाइएको संघका अध्यक्ष सञ्जयकुमार राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिल्लाको खेल क्षेत्रको विकासका लागि न राज्यको ध्यान गएको छ, न त अन्य कसैको, त्यही भएर कसैसँग आर्थिक सहयोग माग्यौँ, कसैसँग सामाग्री माग्यौँ ।’ 
कराँते खेलका लागि आवश्यक सामाग्री नभएकै कारण जिल्लाका खेलाडीहरुले खेलकुदमा राम्रो स्थान गुमाउनु परेकाले सामाग्री जुटाइएको अध्यक्ष राईको भनाइ छ । उहाँले भन्नुभयो, ‘हाम्रो खेलाडीहरु सँधै प्लाष्टर गरिएको ठाउँमा अभ्यास गर्छन्, बाहिर गएर म्याटमा खेल्नुपर्ने हुन्छ, अनि कहाँबाट मेडल हात लाग्छ ?’ 
सितोरियो कराते संघ सगरमाथा अञ्चल संयोजक बिचारी तामाङको सभापतित्वमा भएको कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित सरकारी तथा गैंरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, खेलाडीहरको अभिभावक, पत्रकार लगायतको उपस्थिति रहेको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा मेडल जित्न सफल खोटाङमा २०३९ सालदेखि सुरु सितोरियो कराते खेल सुरु भएको मानिन्छ । उचित खेल सामाग्री तथा मैदानको अभावका बाबजुद संघले ठूलो उपलब्धी गरेको जनाइएको छ ।