साउन–५, स्थापना कालदेखि नै स्वास्थ्य केन्द्रमा डाक्टर नआएपछि जिल्लाका दुई क्षेत्रका बिरामीहरु चर्को मुल्यमा हेलिकोप्टर चार्टर गरेर उपचारका लागि अन्यत्र जान बाध्य भएका छन् । १५ वर्षअघि स्थापना भएको ऐसेलुखर्क र चिसापानी प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नआएपछि आसपासका बिरामीहरु उपचारका लागि एक लाख ३० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म तिरेर उपचारका लागि अन्यत्र जान बाध्य भएका हुन् । 
मन्त्रालय र विभागले एमबिबिएस डाक्टर पठाएको पत्र आएपनि प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना कालदेखि नै डाक्टर नआएको जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङका नायव सुब्बा मणिराम ढकालले बताउनुभयो । स्थापना यता हालसम्म दुवै स्वास्थ्य केन्द्रमा डाक्टर नदेखिएको स्थानीयबासीको भनाइ छ । 
डाक्टर नहँुदा प्राथमिक स्वास्थ्य केन्द्रले स्वास्थ्य चौकीले सरह मात्र सेवा प्रदान गरिरहेको ऐसेलुखर्क–१ का स्थानीय तेजप्रसाद निरौलाले बताउनुभयो । निरौलाले भन्नुभयो, ‘गाउँमा प्राथमिक स्वास्थ्य केन्द्र छ तर डाक्टर आउदैनन्, त्यसकारण जटिल किसिमका बिरामीलाई डोकोमा बोकेर वा डेढ लाख खर्चेर हेलिकोप्टर चार्टर गरेर अन्यत्र लानुपर्ने बाध्यता छ ।’ 
विभागबाट प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा डा. रविन्द्र श्रेष्ठलाई पठाइएको पत्र जिल्ला जनस्वास्थ्य कार्यालयमा आए पनि डा. श्रेष्ठ बेखरबर छन् । अस्पताल श्रोतका अनुशार डा. श्रेष्ठ हाल ‘कहाँ कार्यरत छन्’ भन्नेसम्म जानकारी छैन । 
हाल डाक्टर बिहिन सञ्चालन हुँदैआएको ऐसेलुखर्क स्वास्थ्य केन्द्र हेल्थ असिस्टेण्ट ओमजङ्ग शाहीको भरमा सञ्चालन हुदै आएको छ । यस्तै, चिसापानी स्वास्थ्य केन्द्र सिनियर अहेब राजकुमार दाशको भरमा सञ्चालन हुदै आएको छ । 
चिसापानी स्वास्थ्य केन्द्रकालागि तोकेर पठाइएका डाक्टर पुजन बल्ललाई जिल्ला अस्पताल दिक्तेलमै राखिएको छ । मेडिकल सुपरिटेण्डेन्ट कल्याण बस्नेत लामो समयदेखि शुक्रराज ट्रपिकल अस्पताल टेकुमा बसेको र मेडिकल अधिकृत ओमबिजु पन्त अध्ययन बिदामा रहेकाले स्वास्थ्य केन्द्र चिसापानीका लागि पठाइएका डा. बल्ललाई जिल्ला अस्पतालमै राख्नुपर्ने बाध्यता आएको कार्यालयले जनाएको छ ।
कोही पहुँचका बलमा नआउने र आइहाले पनि काज मिलाएर केहीदिनमै फर्कने प्रबृत्तिका कारण स्वास्थ्य केन्द्रहरु लामो समयसम्म डाक्टर विहिन बनेको जिल्ला अस्पताल खोटाङका प्रमुख डाक्टर नवलकिशोर झाले बताउनुभयो । तोकिएर पठाइएका डाक्टरहरुले ठाउँ ओगटेर अन्यत्र बस्दा उनीहरुको ठाउँमा अन्य डाक्टर ल्याउने कानुनी बाटो पनि बन्द भएको डा. झाको भनाइ छ । 
महिना दिनअघि मात्र लोकसेवा आयोगबाट ५० अहेव र २९ अनमीको पदपूर्ति गरिएपनि जिल्लामा अझै ५१ जना स्वास्थ्यकर्मीको अभाव रहेको अस्पतालले जनाएको छ । जिल्लामा एक वटा अस्पताल, दुई वटा प्राथमिक स्वास्थ्य केन्द्र, २४ स्वास्थ्य चौकी र ४९ उपस्वास्थ्य चौकी सञ्चालनमा छन् ।