साउन–१४, सहिद मनोज–झपेन्द्र स्मृति दिवसको अवसरमा जिल्ला अस्पताल खोटाङका बिरामीलाई फलफुल वितरण गरिएको छ । दिवसको अवसरमा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले जिल्ला अस्पतालमा उपचार गराइरहेका बिरामीहरुलाई बुधबार फलफुल बितरण गरेको हो ।
२०४८ साल साउन–१५ गते बुधबार नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुले निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेको समयमा प्रहरीको गोली लागेर ज्यान गुमाएका दिक्तेलका मनोज जोशीको सम्झनामा बिरामीलाई फलफुल वितरण गरिएको नेपाल निजामती कर्मचारी संगठन खोटाङका अध्यक्ष ध्रुब कार्कीले बताउनुभयो । उहाँका अनुसार जिल्लास्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि लगायतको उपस्थितिमा बिरामीलाई फलफुल बितरण गरिएको हो ।
कर्मचारीको शान्तिपूर्ण आन्दोलन तथा ‘मनोज हत्याकाण्ड’ भएको दिनलाई जिल्लामा हरेक वर्ष ‘मनोज–झपेन्द्र’ स्मृति दिवसकारुपमा मनाइदै आइएको छ । मनोज–झपेन्द्र स्मृति दिवस बिहिबार विभिन्न कार्यक्रम गर्दै समापन गर्ने कार्यक्रम छ ।
मनोजको हत्या भए लगत्तै एक छानबीन समिति गठन गरिएपनि अहिलेसम्म दोषीलाई कारबाही र पीडितलाई क्षतीपूर्तीको व्यवस्था हुन नसकेको पीडित परिवारको गुनासो छ । जोशीलाई राष्ट्रिय सहिदकोरुपमा घोषणा गर्नुपर्ने कर्मचारी संगठन तथा परिवारको माग पनि अहिलेसम्म सम्बोधन हुन नसकेको नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष कार्कीले बताउनुभयो ।