साउन–१६, खोटाङको सदरमुकाम दिक्तेल नगरपालिकामा हप्तादिन अघिदेखि बाघले आतंक मच्याएको छ । गाउँ नजिकैको जंगलबाट आउने बाघले हरेक रात स्थानीयको खसी, बाख्रा र पाठो मार्न थालेपछि दिक्तेल नगरपालिका–२ र ३ का स्थानीय त्रसित बनेका छन् । 
गाउँमा बाघ आतंक मच्चिएपछि रातका समयमा खसी र बाख्राहरुलाई घरभित्र वा बाथरुममा ताला लगाएर राख्न थालिएको दिक्तेल नगरपालिका–३ का टंकप्रसाद आचार्यले बताउनुभयो । आचार्यले भन्नुभयो, ‘हरेक मध्य रातमा गाउँमा बाघ आउँछ, कतिबेला कसको बाख्रा खाइदिन्छ, कुनै ठेगान नै हुँदैन ।’ 
स्थानीयका अनुसार बाघले गाउँका एउटा खसी, तीन वटा बोका र एउटा पाठी मारेर खाइसकेका छन् । रातका समयमा बाघले आवाज नै ननिकाली खसीबाख्रालाई ठाउँबाट दाम्लो काटेर लैजाने गरेका कारण थाहा नपाइने आचार्यले बताउनुभयो ।
बिहिबार राती पनि बाख्रा मार्न गाउँ पसेका बाघलाई भेला भएर बसेका स्थानीयले लखेटेका छन् । जंगल र मकै बारी हुँदै आउने बाघले हप्ता दिनअघि देखि गाउँमा आतंक मच्याएको स्थानीय छत्र आचार्यले बताउनुभयो । 
यसअघि, बाघको आक्रमणबाट उत्तरी गाविस ज्यामिरेमा एकैरात ११ वटा घरपालुवा पशु तथा चौपाय मारिएका थिए । जंगलबाट आएको बाघको आक्रमणबाट ज्यामिरेमा नौं वटा बाख्रा, एउटा सुँगुर र एउटा गाइको बाछी मारिएका हुन् ।