भदौ–४ । जिल्लाको नेर्पा–५ स्थित भुल्के भन्ने ठाउँमा जमिन भासिएपछि नौं घरपरिवार बिस्थापित भएका छन् । लगातारको वर्षाका कारण बस्ती रहेको करिब आठ सय रोपनी क्षेत्रफल जमिन चिरा–चिरा भएर भासिएपछि नौं घरपरिवार बिस्थापित भएका हुन् ।

बिस्थापित हुनेमा वर्णबहादुर राई, वुद्धिबल राई, भलकुमार राई, दिलकुमारी राई, ध्यानबहादुर राई, सर्वधन राई, पविन राई, इमानशेर राई र नरसिं खड्काको परिवार बिस्थापित भएको स्थानीय चित्रकुमार राईले जानकारी दिनुभयो । राईका अनुसार उनीहरु छिमेकीकामा आश्रय लिएर बसिरहेका छन् ।

भदौ १ गतेबाट फाट्न थालेको धाँजाले पूर्वी पहाडी लोकमार्ग अन्तरगत पर्ने सडकको करिब आठ सय मिटर क्षेत्र समेत फाटेको एमाले नेता जलशेर राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ठाउँ–ठाउँमा फाटेको धाँजाभित्रबाट तातो वाफ आइरहेकाले ज्वालामुखी बिस्फोट हुने संकेत देखिएको छ ।’

वर्षाले धार्मीकस्थल भुलभुले भनिने देविस्थान समेत क्षतविक्षद् भएको गाविस सचिव चन्द्र कार्कीले जानकारी दिनुभयो । स्थानीयका अनुसार उक्त ठाउँमा कात्तिके पूर्णीमाको दिन ठूलो मेला लाग्ने गर्दछ ।

जमिन भासिएर घर भत्कन थालेपछि बिस्थापित परिवारलाई नेपाली सेनाको नेतृत्वमा गएको सुरक्षाकर्मीको टोलीले बिस्थापित परिवारलाई सुरक्षित स्थानमा सारेको प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सुरक्षाकर्मीसँगै रेडक्रस, स्वास्थ्य, खाद्यान्न, भू–संरक्षण लगायतका प्रतिनिधि घटना स्थल पुगेका छन् ।
वर्षातले जिल्लाका अन्य ठाउँमा पनि सानातिना घटना भएको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसका लागि नेपाली सेनाको नेतृत्वमा सुरक्षाकर्मी तैनाथ राखिएको छ ।’

यसैवीच, पहिरोले गाईगोठ किच्दा च्यास्चिटार–५ बस्ने सर्वधन परियारको दुई माउ गाई मरेको प्रहरीले जनाएको छ । गोठमा बाँधेर राखिएको गाईलाई गोठमाथिबाट आएको पहिरोले किच्दा दुई माउ गाई मरेका हुन् ।

यसअघि, जिल्लाको फेदी, पाथेका, बास्पानी, खार्मी लगायतका पहिरोको उच्च जोखिममा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुुसार फेदीका १२, बास्पानीका छ, खार्मीका एक, पाथेकाका दुई, चिउरीडाँडाका दुई र जालपाका एक घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
पहिरोले हालसम्म एक जनाको ज्यान गएको छ भने, तीन जना गम्भिर घाइते बनेका छन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको आफन्तले जनाएका छन् ।

जिल्लाका विभिन्न ठाउँमा गएको पहिरोले करोडौंको क्षति भएको दैवीप्रकोप उद्धार समितिले जनाएको छ । पहिरो जानेक्रम जारी रहेकाले हालसम्म यकिन तथ्याङ्क नआएको समितिको भनाइ छ ।