भदौ–१२ । श्रीमतीलाई खुकुरी प्रहर गर्ने खोटाङका एक युवा कारागार चलान भएका छन् । श्रीमतीलाई खुकुरी प्रहारगरी गम्भिर घाइते बनाउने चिप्रिङ–८ का २२ वर्षीय शुभ भनिने किशन राई कारागार चलान भएका हुन् ।
गत साउन–७ गते श्रीमतीलाई खुकुरी प्रहारगरी गम्भिर घाइते बनाउने किशनलाई जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ । साउन–१० गते पक्राउ परेका उनीविरुद्ध ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा चलाइएको अदालतले जनाएको छ ।
उनले घरायसी विवादमा श्रीमतीको टाउको, गर्धन र स्तनमा खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी सहायक निरीक्षक मनोज यादवले जानकारी दिनुभयो । खुकुरी प्रहारबाट गम्भिर घाइते बनेकी उनको जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेपछि हेलीकोप्टरमार्फत साउन–१० गते काठमाडौं लगिएको थियो ।
गम्भिर घाइते बनेकी उनको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको जनाइएको छ । उनको अवस्था सामान्य बन्दै गएको अस्पताल श्रोतले जनाएको छ । डेढ वर्षअघि वैवाहिक बन्धनमा बाँधिएका उनीहरुको सात महिनाकी एक छोरी छन् ।