भदौ–१४ । ठेकेदार कम्पनीको हेल्चेक्राइले ट्रष्ट जडान गरिसकिएको उदयपुर र ओखलढुंगा जोड्ने सुनकोसीको पक्की पुल ढलानको काम ढिलाइ भएको छ । ओखलढुंगाको हर्कपुर र उदयपुरको घुर्मीस्थित सुनकोसीको पुलको ट्रष्ट जडानका काम सम्पन्न भएको दुई महिना लाग्दा समेत पुल ढलानका काम सुरु भएको छैन । 
पुलको ट्रष्ट जडानको कामको जिम्मा लिएको हुलास स्टिलले आफ्नो काम सम्पन्न गरे पनि ढलान गर्ने जिम्मा लिएको मूल ठेकेदार कम्पनी वाइवा कन्ट्रक्सनले ढलानको काममा ढिलाइ गरेको सडक बिभागले जनाएको छ । सडक बिभागका उप–महानिर्देशक अर्जुनजङ् थापाका अनुशार गत असारमै सुनकोसी पुलको स्टिल ट्रष्ट जडानका काम सम्पन्न भएको हो ।
सडक विभागले पुल ढलानकालागि एक सप्लायर्समा जमानी बसेर कन्ट्रक्सनका लागि आवश्यक रड र सिमेन्टको समेत बन्दोबस्त मिलाइदिँदा समेत काममा ढिलाइ भइरहेको थापाले बताउनुभयो । कन्ट्रक्सनले भने ढलानको तयारी स्वरुप फर्मा ओछ्याइसकेको बताएको छ ।
विभागका अनुसार १३ वर्षदेखि निर्माणाधिन पुलको निर्माण कार्य यही भदौभित्र सम्पन्न गरिसक्ने पछिल्लो 
सम्झौता भएको थियो । वाइवा भैरब कन्ट्रक्सनका ठेकेदार कृष्ण लामाले पाँच वर्षभित्र पूरा गर्नेगरी २०५८ सालमा जिम्मा लिएको पुल निर्माणको काम १३ वर्ष लाग्दा समेत पूरा हुनसकेको छैन । 
१४ करोडको लागतमा पूरा गर्नेगरी काम थालिएको पुलको स्टीमेट अहिले १७ करोड पुगीसकेको बताइन्छ । हर्कपुरमा पुल हुँदा र नहुँदा उपभोग्य सामानको मूल्य प्रतिकेजी ८ रुपैयाँका दरले फरक पर्ने उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष खुसनारायण शैंजूले बताउनुभयो । उहाँले भन्नुभयो, ‘केही व्यक्तिको स्वार्थ पूर्तीका लागि ठेकेदार कम्पनीको हेल्चेक्राइले गर्दा सर्वसाधारण मारमा परेका हुन् ।’