भदौ–२६, जिल्लाको दक्षिणी गाविस डम्वर्खुशिवालयमा नयाँ सामुदायिक बचत तथा ऋण सहकारी संस्था स्थापना भएपछि स्थानीयबासी लाभान्वित भएका छन् । गाउँमा स्थापना भएको सहकारीले सस्तो ब्याजमा ऋण दिएपछि स्थानीयबासी लाभान्वित भएका हुन् ।
छरिएर रहेको स्थानीय पुँजीलाई बृहत बनाउने उद्देश्यका साथ गत २०६९ माघ–२५ गतेबाट सहकारी स्थापना गरिएको थियो । गाउँमै सहकारी स्थापना भएपछि स्थानीय बासिन्दाहरुको फजुल खर्च गर्ने बानी हट्नुका साथै बचत गर्ने बानीमा समेत विकास भएको संस्थाका सचिव गणेश चौलागाईले बताउनुभयो ।
सचिवका अनुसार संस्था स्थापना गर्दा सात सदस्य कार्यसमिति पुग्न समेत गाह्रो परेको थियो । उसबेला संस्थामा आवद्ध सदस्यनीहरुले मासिक दुई सय रुपैयाँका दरले बचत गर्ने गरेका थिए । सहकारीले सहुलियत रुपमै ऋण दिन थालेपछि साहुकोमा गएर मुख चिहाउनुपर्ने बाध्यता हटेको स्थानीय लक्षुमान रोइलाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिले–पहिले ठेकीकोसेली लिएर साहुकोमा ऋण माग्न जानु पथ्र्यो, अहिले सहकारीले सस्तो ब्याजमै ऋण दिन थालेपछि गर्जो टार्न सहज भएको छ ।’
सहकारीले संस्थामा आवद्ध सदस्यहरुलाई एक लाख रुपैयाँसम्म ऋण बिना धितो उपलब्ध गराउदै आएको छ । सहकारी स्थापना हुनुअघि थोरै कर्जाको लागि पनि दुई दिनको बाटो धाएर बैंक जानुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ । सहकारीले आगामी दिनमा आयआर्जनको कामका लागि मात्र ऋण दिने लक्ष्य लिएको संस्थाका अध्यक्ष यामकुमार राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्वरोजगारमुलक काममा लगानी गरेर स्थानीयलाई गाउँमै रोजगारी दिलाउने लक्ष्य लिएका छौं ।’