भदौ–२७, ते¥ह वर्षदेखि निर्माणाधिन सुनकोसीको पक्की पुलको काम सम्पन्न गर्नकालागि कार्य तालिका तयार पारिएको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण ते¥ह वर्षमा पनि पूरा हुन नसकेको उदयपुरको घुर्मी र ओखलढुंगाको हर्कपुर जोड्ने सुनकोसीको पक्की पुल निर्माणको काम सम्पन्न गर्नकालागि भौतिक पुर्वाधार योजना मन्त्रालयमा आयोजित बैठकमार्फत कार्य तालिका बनाइएको हो । 
सोलुखुम्बुका सभाषद् बलबहादुर केसी, ओखलढुंगाका सभाषद रामहरि खतिवडा, खोटाङका सभाषद् पिके राई, भौतिक पुर्वाधार योजना मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौला, सडक विभागका डिजी देबेन्द्र कार्की, ठेकेदार कम्पनी वाईवा कन्ट्रक्सनका कृष्ण लामा, हुलास स्टिलका प्रतिनिधि दिवाकर गोल्छा लगायत सम्मिलित बैठकले आगामी कार्तिकदेखि सुनकोसीको पुल सञ्चालनमा ल्याउनेगरी काम गर्न कार्य तालिका तयार पारेको हो । अनेक बाहनामा सुनकोसीको पुल निर्माणको काम लम्ब्याउने र पटक–पटक म्याद थप्ने प्रबृत्तिलाई रोक्दै तत्काल पुल निर्माणको काम सक्नकालागि दवाव स्वरुप कार्य तालिका बनाइएको खोटाङका सभाषद पिके राईले जानकारी दिनुभयो । 
मन्त्रालयमा भएको बैठकमा भदौभित्र निर्माणाधिन पुलको बेरिङको काम पूरा गर्ने, बेरिङको काम पूरा भएलगत्तै असोज–१ गतेदेखि पुल ढलानको काम थाल्ने, असोज पहिलो हप्ताभित्र हर्कपुरतर्फको पुलको भागमा ढलान पूरा गर्ने, असोज–३१ गतेभित्र पुलको सबै भागमा ढलानका काम सम्पन्न गर्ने र कार्तिकदेखि पुल सञ्चालनमा ल्याउने गरी कार्य तालिका तयार पारिएको सभाषद राईले बताउनुभयो । ढलानका काम सम्पन्न भएको २८ दिनपछि पुल सञ्चालनमा ल्याउने निर्णय भएको बैठकमा सहभागीहरुले बताएका छन् । 
वाईवा भैरब कन्ट्रक्सनका ठेकेदार कृष्ण लामाले ५ वर्षभित्र पूरा गर्नेगरी २०५८ सालमा जिम्मा लिएको पुल निर्माणको काम १३ वर्ष बित्न लाग्दा समेत पूरा हुन सकेको छैन । समयमा पुल निर्माण नहुँदाको प्रत्यक्ष अशर माथिल्लो सगरमाथाका ओखलढुंगा, सोलुखुम्बु र खोटाङको भौतिक, आर्थिक र सामाजिक विकासमा परिरहेको छ । 
१४ करोडको लागतमा पूरा गर्नेगरी काम थालिएको पुलको स्टीमेट अहिले १७ करोड पुगीसकेको बताइन्छ । बिभागका अनुसार निर्माणाधिन पुलको निर्माण कार्य यही भदौभित्र सम्पन्न गरिसक्ने पछिल्लो सम्झौता भएको थियो । वाईवा कन्ट्रक्सनले भने पुलको ढलानको तयारी स्वरुप फर्मा तयार पार्ने काम भइरहेको बताएको छ ।