भदौ–३०, स्थानीय एक युवाद्धारा बलात्कृत खोटाङकी एक आठ वर्षीया बालिकालाई प्रमुख जिल्ला अधिकारीले उपचार खर्च प्रदान गर्नुभएको छ । नुनथला–८ का १७ वर्षीय साङ्गे शेर्पाद्धारा बलात्कृत बालिकालाई प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले उपचार खर्चस्वरुप नगद पाँच हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । 
बलात्कृत बालिकाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको खबर विभिन्न सञ्चारमाध्यममा प्रकाशन÷प्रशारण भएपछि उपचार खर्चस्वरुप नगद प्रदान गरेको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उनको आर्थिक अवस्था समेत कमजोर भएकाले थोरै भएपनि सहयोग होस् भनेर आफ्नो तलब कटाएर उपचार खर्चस्वरुप पाँच हजार रुपैयाँ दिएको हुँ ।’
बलात्कृत बालिकाको जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । पारिवारिक श्रोतका अनुसार उनको स्वस्थ्यमा सुधार हुँदै गएको जनाइएको छ । 
शेर्पाले गत १६ गते बेलुका बालिकालाई फकाइफुल्याइ बलात्कार गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय खोटाङको मुद्दा शाखाका प्रहरी सहायक निरीक्षक मनोजकुमार यादवले बताउनुभयो । उहाँका अनुसार बलात्कारपछि शेर्पाले बालिकाको यौनाङ्गभित्र लौरो समेत घुसारेको खुल्न आएको छ ।
बालिका बलात्कारपछि आफन्तले दिएको उजुरीको आधारमा शेर्पालाई पक्राउ गरेर कारबाहीको प्रक्रिया थालेको प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पक्राउ परेका शेर्पाले बलात्कार गरेको स्वीकारी सकेकाले जबरजस्ती करणी अन्तरगत मुद्दा चलाइएको छ ।’