असोज–५, लगातारको वर्षासँगै गएको पहिरोले लघुजलविद्युत पुरिएपछि खोटाङका ४५ घरका स्थानीयबासी अन्धकारमा बस्न बाध्य भएका छन् । हप्तादिनदेखि लगातार परेको पानीका कारण गएको पहिरोले विद्युत गृह पुरिँदा छितापोखरी–८ गोगनेका ४५ घरपरिवार अन्धकारमा बस्न बाध्य भएका हुन् ।

करिब ६० मिटर माथिबाट शनिबार राती झरेको पहिरोले विद्युत गृह पुरिएको स्थानीय नरेन्द्र राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बेलुका सुत्दा बत्ति बलिरहेको थियो, उठेर हेर्दा विद्युत गृहको नामनिसाना नै छैन ।’

स्थानीयको पहलमा उक्त ठाउँमा आठ किलोवाट क्षमताको लघुजलविद्युत उित्पादन गरिएको थियो । गाविसको दुई लाख ५० हजार र स्थानीयको चन्दा संकलनबाट दुई वर्षअघि दिपज्योति लघुजलविद्युत आयोजना सञ्चालनमा ल्याइएको हो ।

यसैवीच, बिहीबार परेको चट्याङले निर्मलीडाँडामा सञ्चालित साप्सु खोला लघुजलविद्युत आयोजनामा क्षति पुगेको छ । गत जेठबाट सञ्चालनमा आएको ११ किलोवाट क्षमताको लघुजलविद्युत आयोजनामा क्षति पुग्दा उक्त ठाउँका ५२ घरपरिवार अन्धकारमा परेका छन् ।
समुदायको आफ्नै पहलमा उत्पादन गरिएको लघुजलविद्युतको पावर हाउस जल्दा लाखौंको क्षति भएको स्थानीय गम्भिर खत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘विद्युत अवरुद्ध भएपछि मट्टी तेलको भरमा बस्न बाध् भएका छौं ।’