असोज–११ । स्थानीय पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने खोटाङका एक युवालाई १२ वर्ष कैद सजाय र ७५ हजार रुपैयाँ क्षतिपूर्तीको फैसला सुनाइएको छ । बालिका बलात्कारपछि पुर्पक्षका लागि कारागारमा राखिएका डाँडागाउँ–१ का २५ वर्षीय किशोर भुजेललाई यस्तो फैसला सुनाइएको हो ।

आरोपित भुजेलले जबरजस्ती करणी गरेको स्वीकार गरेपछि जिल्ला न्यायाधिस इश्वरीप्रसाद गौतकमको एकल इजलासले उनलाई उक्त सजाय सुनाएको श्रेष्तेदार भीष्म भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार भुजेलले मादक पदार्थ सेवन गरेको समयमा बालिकालाई जबरजस्ती करणी गरेको बयान दिएका छन् ।

भुजेलले घरमा कोही नभएको समयमा गत असार–७ गते बालिकालाई जबरजस्ती करणी गरेका थिए । बालिका बलात्कृत भएपछि आफन्तले दिएको उजुरीको आधारमा उनलाई असार–९ गते प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीमा परेको उजुरीको आधारमा घरैबाट पक्राउ परेका उनलाई अदालतले साउन–४ गते पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको थियो । दुई वर्षअघि विवाह गरेका उनले घरमा श्रीमती गर्भवती भएको समयमा बालिकालाई बलात्कार गरेको पीडित परिवारको आरोप छ ।

बलात्कृत बालिकाको स्वास्थ्य अवस्था ठीक हुँदै गएको पारिवारिक स्रोतले जनाएको छ ।