असोज–११ । ठेकेदारको लापर्वाहीका कारण पुर्ननिर्माण गरिएका जिल्लाका अकिांश सरकारी कार्यालयका भवनहरु चुहिन थालेका छन् । ठेकेदारले फाइदा खानका लागि कम गुणस्तरका निर्माण सामाग्री प्रयोग गरेका कारण निर्माण कार्य सम्पन्न नहुँदै चुहिन थालेका हुन् ।

माओवादी द्धन्द्ध कालमा ध्वस्तपछि निर्माण गरिएका जिल्ला प्रशासन, जिल्ला विकास समिति, जिल्ला शिक्षा कार्यालय, जिल्ला वन, सरकारी वकील, जिल्ला मालपोत, जिल्ला कारागार लगायतका सरकारी कार्यालयको भवन चुहिनुका साथै भत्किन थालेका छन् । वर्षाको पानी चुहिएर कागजपत्र भिज्ने भएपछि कतिपय कार्यालयमा पाल टाँगिएको छ भने, पतिपयमा बाल्टी थापिएको छ ।

पानी चुहिने समस्याले जिल्ला विकास समितिको छानामा पाल टाँगिएको छ । जिल्ला प्रशासन, मालपोत, सरकारी वकील, शिक्षा, जिल्ला वन लगायतका कार्यालयको ढलान तथा छानाबाट चुहिएको पानी जमेर आहाल बनेको छ ।

प्रत्येक कार्यालयका एक जना कर्मचारी ढलान तथा छानाबाट चुहिएको पानी बाल्टीमा उठाएर फाल्नमै ठिक्क हुने गरेका छन् । हेर्दा बाहिरबाट राम्रै देखिन्छ तर, भित्र पस्दा पानीको आहाल जमेको भेटिन्छ । कर्मचारीका अनुसार कतिपय कागजपत्र पानीले भिजेर काम नलाग्ने भएका छन् ।
जिल्ला प्रशासन र सरकारी वकीलको कार्यालय निर्माणको ठेक्का मोहन खत्री लिएका थिए भने, जिल्ला विकास समिति, मालपोत र जिल्ला वन कार्यालय कुमार आचार्यले लिएका थिए । जिल्ला शिक्षा कार्यालयको ठेक्का बिनोद उदास र जिल्ला कारागारको ठेक्का सम्भु घिमिरेले पारेका थिए । उनीहरुले सरकारी रेटभन्दा २५ प्रतिशत बढिमा ठेक्का लिएर भवन निर्माण गरेका थिए ।

जिल्ला विकास समितिको छानाबाट पानी चुहिएपछि टाँगिएको पाल

जिल्लाका ठेकेदारहरु सेवामुखीभन्दा पनि नाफा मुखी भएकाले यस्तो समस्या आएको राप्रपा नेपालका जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीकै तर्फबाट मैले पटक–पटक कुरा उठाएँ, तर अन्य दलले साथ नदिएपछि यस्तो समस्या आएको हो ।’ उहाँले थप्नुभयो, ‘यसमा ठेकेदारको मात्रै दोष छैन, कर्मचारीहरु पनि यसको भागीदार रहेका छन् ।’
श्रेष्ठका अनुसार सम्बन्धित कार्यालयका कर्मचारी र ठेकेदारको मिलेमतोमा कम गुणस्तरका निर्माण सामाग्री प्रयोग गरिएकाले यस्तो समस्या आएको हो । स्थानीय शान्ति समितिले द्धन्द्ध कालमा ध्वस्त पारिएका भवनहरु पुर्ननिर्माणपछि अनुगमन गर्दा कम गुणस्तरका भवनहरु पास गर्न नहुने भन्दै श्रेष्ठले कडा बिरोध गर्नुभएको थियो । उहाँ भन्नुहुन्छ, ‘सदरमुकाममा त यस्तो हालत छ, अन्य ठाउँमा निर्माण गरिएका भौतिक पूर्वाधारको अवस्था कस्तो होला !’
यसबारे यातायात असुविधाका कारण जिल्लामा गुणस्तरीय सामाग्री ल्याउन नसकिएकाले गुणस्तरीय सेवा दिन नसकिएको निर्माण व्यवसायी संघका अध्यक्ष समेत रहनुभएका ठेकेदार कुमार आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिल्लामा गुणस्तरीय बालुवा तथा अन्य निर्माण सामाग्री ंछैन, काम पनि नगरी भएको छैन, त्यही भएर यस्तो समस्या आएको हो ।’
उता, प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले तत्काल सम्बन्धित ठेकेदारहरुलाई समस्या देखिएका ठाउँमा पुर्नमर्मत गर्न निर्देशन दिने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘ठेकेदारहरुको लापर्वाहीकै कारण यस्तो भएको पाइयो, उनीहरुले नै पुर्नमर्मत गर्नुपर्छ ।’
पुर्ननिर्माण गरिएका कतिपय कार्यालयहरु यसअघि पनि पटक–पटक पुर्नमर्मत गरिएको छ । जिल्ला विकास समितिको कार्यालय तीन पटक मर्मत गरिसकिएको छ ।