असोज २५ । जिल्लामा घरेलुहिंसाका घटना वृद्धि हुँदै गएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) खोटाङले प्रस्तुत गरेको प्रतिवेदनमा यस्तो पाइएको हो ।
तीन महिनाको अवधिमा जिल्लामा २७ वटा मानवअधिकार हनन्का घटना भएकोमा सबैभन्दा बढि घरेलुहिंसाको दश वटा मुद्दा दर्ता भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ । यस्तै, दुव्र्यवहारका दुई, गैरन्यायिक हत्या एक, शिशुहत्या एक, ज्यान धम्की तीन, कुटपिट छ, बहुविवाह दुई, बालविवाह एक र बलत्कारका घटना दुईवटा भएको इन्सेक प्रतिनिधि डिएम चाम्लिङले सार्वजनिक गर्नुभएको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा सहभागीहरुले उक्त घटनका दोषीहरुलाई कारबाही गर्नुको सट्टा केही राजनीतिक दलले संरक्षण दिइरहेको बताएका छन् । जिल्लाका केही राजनीतिक दलका नेताहरुले दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याएर सहयोग गर्नुको सट्टा संरक्षण दिएको राप्रपा नेपालका जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठले बताउनुभयो ।
यसबारे कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले मानवअधिकारको संरक्षण र संवद्र्धनमा इन्सेकले पु¥याएको भूमिकाको प्रसंसा गर्दै महिला र बालबालिकामाथि हुने सबै प्रकारको हिंसा अन्त्य गर्न आफ्नोतर्फबाट सक्दो भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘घटनाका आरोपितहरुलाई कानूनी दायरामा ल्याएर पीडितलाई न्याय दिलाउने कुरामा प्रशासन प्रतिवद्ध रहेको छ ।’
इन्सेक प्रतिनिधि चाम्लिङले सन् २०१४ जुलाई १ देखि सेप्टेम्बर ३० सम्म जिल्लामा अभिलेख गरिएको २७ वटा घटना प्रतिवेदनको रुपमा कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रतिनिधिहरुले गम्भीर प्रकृतिका मानवअधिकार उलंघनका घटनालाई उठाएर वर्ष पुस्तकको माध्यमबाट सार्वजनिक गर्ने इन्सेकको काम सह्रानीय रहेको बताएका छन् ।