असोज २६ । खोटाङमा घडेरी सम्याउनेक्रममा पाइप बम फेला परेको छ । सदरमुकाम दिक्तेलस्थित जिल्ला प्रहरी कार्यालय नजिकै प्रेमकुमार बजिमयको घर निर्माणका लागि घडेरी सम्याउनेक्रममा उक्त बम फेला परेको हो ।

करिब एक मिटर लामो उक्त पाइप बम द्धन्द्धकालमा प्रहरीले नै बिच्छ्याएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयको उत्तरी क्षेत्रमा पर्ने तत्कालीन चेकपोष्ट नजिक फेला परेको उक्त बम नेपाली सेनाको डिस्पोजल टोलीले लगेका छन् ।

आइतबार दिउँसो फेला परेको बम सोही ठाउँमा डिस्फोज गराउँदा कोलाहल हुने भएकाले एकान्त ठाउँमा डिस्पोज गराउन सेनाले लगेको प्रहरीले जनाएको छ ।