असोज २९ । जिल्ला शिक्षा कार्यालयबाट विभिन्न शीर्षकमा निकासा भएको झण्डै सात करोड रुपैयाँ बजेट अझै फछ्र्यौट भएको छैन । नयाँ ब्लक, चार कोठे भवन, बाह्यवातावरण सुधार, छात्रा सौचालय, कक्षा कोठा मर्मत, दुई तले भवन, ठूला मर्मत लगायतगरी छ करोड ८२ लाख रुपैयाँ बजेट फछ्र्यौट हुन नसकेको हो ।
जिल्लाका विभिन्न विद्यालयहरुले रकम निकासा गरेपनि काम पूरा नगरेका कारण बजेट फछ्र्यौट गर्न नसकिएको शिक्षा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कतिपय विद्यालयले काम सम्पन्न गरेका छन् भने, कतिले सुरु नै गरेका छैनन् ।
आर्थिक वर्ष २०६८÷०६९ मा दुई तले भवन निर्माणका लागि चम्पावती उच्च मावि बुइपाले लिएको १४ लाख, दुर्छिम उच्च मावि दुर्छिमले लिएको १४ लाख, भगवती उच्च मावि खोटाङबजारले लिएको १४ लाख, सिम्पानी उच्च मावि सिम्पानीले लिएको १४ लाख, त्रिभुवन उच्च मावि ऐसेलुखर्कले लिएको १४ लाख, देउराली उच्च मावि डुम्रेधारापानीले लिएको १४ लाख, विद्योद्धय उच्च मावि दोर्पाचिउरीडाँडाले लिएको १४ लाख, महेन्द्रोदय उच्च मावि ओख्रेडाडाँडागाउँले लिएको १४ लाख र बालकन्या उच्च मावि फाक्टाङले लिएको १४ लाख रुपैयाँ बजेट फर्छौट हुन सकेको छैन । यसमध्ये विद्योद्धय उच्च मावि दोर्पाचिउरीडाँडामा हालसम्म भवन नै निर्माण भएको छैन । विद्यालयका प्राचार्य मनकाजी राईका अनुसार सामान ढुवानीमा समस्या आएका कारण पेश्की लिएर पनि काम सुरु नभएको हो ।
यस्तै, आर्थिक वर्ष २०७०÷०७१ मा दश लाखका दरले बितरण गरिएको दुई तले भवनको पनि बजेट फछ्र्यौट भएको छैन । बजेट फछ्र्यौट नगर्ने विद्यालयहरुमा सरस्वति उच्च मावि अर्खौले, जालपा उच्च मावि जालपा, महेन्द्रोदय उच्च मावि हलेसी, पिपलडाँडा उच्च मावि मंगलटार, पञ्चकन्या उच्च मावि विजयखर्क, कृष्ण उच्च मावि टेम्मा, जनता उच्च मावि बतासे, शान्ति उच्च मावि छोरम्बु र राधाकृष्ण उच्च मावि बाँझेच्यानडाँडा रहेका छन् । त्यस्तै, आर्थिक वर्ष २०६८÷०६९ मा दुई कोठे नयाँ कक्षा कोठा निर्माणका लागि थर्पुडाँडा मावि सप्तेश्वरले लिएको छ लाख ५० हजार, शान्ति मावि टेम्माले लिएको छ लाख ५० हजार, शिक्षा निकेतन औतारी मावि देविस्थानले लिएको सात लाख ५० हजार, कृष्ण मावि बर्रे सिम्पानीले लिएको सात लाख ५० हजार, दाम्ली मावि डिकुवाले लिएको सात लाख ५० हजार, शान्ति मावि बडहरेले लिएको सात लाख ५० हजार, कालिका प्रावि राजापानीले लिएको सात लाख ५० हजार र पारुहाङ प्रावि धितुङले लिएको सात लाख ५० हजार रुपैयाँ बजेट फछ्र्यौट नभएको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७०÷०७१ मा नयाँ कक्षा कोठा निर्माण (दुई तल) का लागि ३७ विद्यालयले लिएको रकम पनि फछ्र्यौट नभएको पाइएको छ । आर्थिक वर्ष २०६६÷०६७ मा दुई कोठे नयाँ कक्षा कोठा निर्माणका लागि बालबालिका प्रावि लामीडाँडाले लिएको पाँच लाख ५० हजार, २०६२÷०६३ मा नयाँ ब्लक निर्माणका लागि रोशाभञ्ज्याङ प्रावि छितापोखरीले लिएको तीन लाख २० हजार, २०६६÷०६७ मा चार कोठे भवन निर्माणका लागि सिंहदेवि निमावि लामीडाँडाले लिएको आठ लाख २५ हजार रुपैयाँ हालसम्म पनि फछ्र्यौट भएको छैन ।
यस्तै, विभिन्न समयमा विद्यालयहरुले लिएको बाह्यवातावरण, छात्रा सौचालय, ठूला योजना, कक्षा कोठा मर्मत लगायतका योजनामा पेश्की लिएका विद्यालयले हालसम्म फछ्र्यौट नगरेको कार्यालयले जनाएको छ । पटक–पटक ताकेता गर्दा समेत विद्यालयले चासो नदिएको शिक्षा कार्यालयको भनाइ छ ।