खोटाङ साउन–८, चार बर्ष खाँडी मुलुकमा पसिना बगाएका युवा हाल आफैले खनेको पोखरी र लगाएको माछामा सुखी जीवनको दृश्य नियालिरहेका छन् । आम्दानीको सपना भरिएको पोखरी र माछाहरुको लस्कर हेर्छन् अनि सित्तल र आनन्द मान्छन् । 
वैदेशिक रोजगरीको कुनै विकल्पै नसोँचेका खोटाङ खाल्लेका रबिन राई घरमै बार्षिक पाँच लाख बढी कमाई गर्न भनेर ब्यवसायिक माछा पालन सुरु गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका युवा रबिनले विदेशमा गर्ने जति मेहनत नगर्दा पनि गाउँमै मनग्गे आम्दानी हुने पत्तो पाएपछि एकाएक ब्यवसायिक माछा पालन गर्न कस्सिएका हुन् । 
वैदेशिक रोजगारीको लागि दुवई गएको रबिन कमाई गर्ने थलो दुवईलाई मात्रै सम्झन्थे । तर वुवा योगबहादुरले घरबारीमै मनग्गे आम्दानी हुन्छ भनेर रविनको आँखा खोलिदियो । रबिनको आँखा खोलिदिने योगबहादुरको पनि त्यस्तो सोंचाईं कहाँ थियो र ? उनको आँखा चाहीँ वित्तीय साक्षरता कक्षाले खोलिदिएको हो । गाउँमा सञ्चालन भएको वित्तीय साक्षरता कक्षामा सहभागी बनेपछि योगबहादुरले आफ्नो छोरा रबिनलाई विदेशबाट फर्काएको हो । 
मेहनत र बचत गरेका खण्डमा स्वदेशमै लोभ लाग्दो कमाई गर्न सकिन्छ भनेर वुवा योगबहादुरले २४ हप्तासम्म बित्तीय साक्षरता कक्षामा सिकेको कुरा रबिनलाई फोनमार्फत सुनाएका थिए । वुवाको कुरा रबिनलाई चित्त बुझ्यो र फर्कियो नेपाल, खन्यो पोखरी, ग¥यो ५० हजार लगानी थाल्यो माछा पालन ब्यवसाय । हाल पोखरीमा १५ सय भुर्रा लगाएका छन् ।
परिवारमा छलफल गर्दा र विदेशको दुःखलाई तुलना गर्दा परिवारसँगै रमाएर व्यावसाय गर्न हरेक हिसाबले फाईदा रहेको रबिनको टुङ्गो छ । ‘अहिले बुवाले लिएको शिक्षाबाट मैले व्यावसायिक जीवन अगाल्न सफल भएको छु ।’ रबिन भन्छन्–‘ बुवाको कुराबाट नेपाल फर्किएँ, अहिले आफ्नै जन्मभुमिमा आम्दानीको बाटो समाउँदा एकदम रमाइलो लागेको छ ।’ 

उनले माछा पालन ब्यवसायलाई परिस्कृत र बृहत बनाउने योजना बनाएका छन् ।

बालसेवा समाज नेपाल नेर्पा खोटाङले सुरक्षित आप्रवासन परियोजना सामी अन्र्तगत सञ्चालन गरेको वित्तीय साक्षरता कक्षामा आम्दानीको उपायबारे छलफल गरिन्छ । वैदेशिक रोजगारीमा गएको परिवारको रेमिट्यान्स सञ्चालक सदस्यहरुबीच सञ्चालन गरिने कक्षामा आम्दानी र खर्चको हिसाब किताब राख्ने, पारिवारिक छलफलबाट वित्तीय लक्ष्य निर्धारण गर्ने लगायतको बारेमा छलफल गरिने गरिन्छ । व्यावसायिक योजनाका साथ अगाडी बढ्दा पारिवारिक जीवनस्तर सुर्धान र सम्पन्नता प्राप्त गर्न सहज हुने बारेमा समेत छलफल हुने बालसेवा समाज नेपालको बिद्यालय तथा आमसञ्चार कार्यक्रम संयोजक ओजोनवावु आचार्यले बताउनुभयो । 
वित्तीय साक्षरता कक्षामा सहभागी बनेको जिल्लाका अन्य घरपरिवार समेत आम्दानीको बाटो समाउदै सम्पन्नतातर्फ लम्किएका छन् । 
                                                                      – वित्तीय साक्षरता सहजकर्ता दिनेश बस्नेतको सहयोगमा