कात्तिक–५ । जिल्लामा म्याद गुज्रीएको सामाग्री बिक्रीबितरण भइरहँदा पनि व्यापारीहरुमाथि कुनै कारबाही भएको छैन । 
सदरमुकाम दिक्तेलमा सञ्चालित अधिकांश होलसेल तथा खुद्रा पसलमा म्याद गुज्रीएको सामाग्री बिक्रीबितरण भइरहेको पाइएपनि कारबाही नभएको हो ।
व्यापारीहरुले अखाद्यवस्तु बिक्रीबितरण गर्ने गरेको सम्बन्धित निकायमा पटक–पटक जानकारी गराउँदा समेत त्यस्ता व्यापारीमाथि कुनै कारबाही नभएको उपभोक्ताको आरोप छ । प्रशासनले नेतृत्व गरेको अनुगमन टोलीले अनुगमनका क्रममा थुप्रै अखाद्यवस्तु फेला पार्दा समेत कुनै कारबाही नगरेको उनीहरुको भनाइ छ । 
चाड पर्वको समयमा हुनसक्ने कालोबजारी नियन्त्रण गर्न जिल्ला प्रशासनको नेतृत्वमा कोलेनिका, घरेलु, खाद्य संस्थान, उद्योग वाणिज्य संघ, नेपाल प्रहरी लगायतका प्रतिनिधिको संयुक्त टोलीले मंगलबार बजार अनुगमन गरेको थियो । सदरमुकाम दिक्तेलका विभिन्न ३२ वटा होलसेल तथा खुद्रा पसलमा गरिएको अनुगमनका क्रममा १३ वटा पसलमा म्याद गुज्रीएको सामाग्री फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन राईले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, ‘यो पहिलो पटक फेला परेकाले कुनै कारबाही नगरी उनीहरु आफैलाई नष्ट गर्न आग्रह गरिएको छ ।’
तर, यसअघि पनि पटक–पटक बजार अनुगमन भने, हुनेको गरेको व्यापारीहरु बताउँछन् । गत अुसार–१३ गते पनि व्यापारीहरुले मनपरी बजार मुल्य बढाएको गुनासो उपभोक्ताबाट आएपछि अनुगमन गरिएको थियो । उसबेला, सहायक प्रमुख जिल्ला अधिकारी राईले भन्नुभएको थियो, ‘यो पहिलो चरणको अनुगमन भएकाले सुझाव मात्र दिइएको छ ।’
व्यापारीहरुले अखाद्यवस्तु बिक्रीबितरण गर्नुका साथै चाड पर्वको समयमा मनपरी मुल्यवृद्धि गरेर कालोबजारी गर्ने गरेको पाथेक–२ का धनप्रसाद गिरीको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘यसप्रति सम्बन्धित निकायको ध्यान नजाने हो भने, हजारौं उपभोक्ता स्वास्थ्य समस्यामा पर्नेछन् ।’
जिल्लामा अत्यधिक मात्रामा म्याद नाघेका सामाग्री खरिद तथा बिक्री हुने गरेको उपभोक्ताले गुनासो गरेका छन् । गाउँ–गाउँमा पु¥याइएका सामाग्री त झनै दुई वर्षअघिसम्मको हुने गरेको नेर्पाका वेदीकुमार राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँका उपभोक्ताले म्याद नै नहेरी खरिद गर्ने गरेका छन् ।’ 
अनुगमन टोलीका अनुसार चाउचाउ, बिस्कुट, दालमुठ, मसला, काजु, जुस, लगायतका सामाग्रीको म्याद गुज्रीएको पाइएको छ । अधिकांश सामाग्रीको म्याद केही समयको मात्र रहेको छ ।  
यसबारे यातायात असुविधाका कारण ढुवानीमा समस्या भएकाले केही सामाग्रीको म्याद बाटैमा गुज्रीएर आउने गरेको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष खुसनारायण सैंजूले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उत्पादन भएको तीन महिनापछि जिल्लामा सामाग्री आइपुग्छ, त्यही भएर यस्तो समस्या आएको हो ।’