कात्तिक–१३ । गुण्डागर्दी गरेको आरोपमा चार वटा मुद्दा खेपीरहेका युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य दिलचक्र राईले अब सृजनशिल तथा रचनात्मक कामको नेतृत्व गर्ने बताउनुभएको छ । 
संघका सदस्य तथा माथिल्लो सगरमाथा इन्चार्ज राईले बुधबार एमाले खोटाङको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी गुण्डागर्दीको नाइकेको रुपमा आफूलाई परिचित गराएको भन्दै त्यसले आफू र आफू सम्बद्ध संगठनलाई समेत नकारात्मक असर गरेकाले आगामी दिनमा सृजनशिल तथा रचनात्मक कामको नेतृत्व गर्ने बताउनुभएको हो ।
चार वटा सार्वजनिक मुद्दा खेपिरकेका राईले आफू संलग्न नरहे पनि प्रहरी प्रशासनले झुटो मुद्दा दर्ता गरेको आरोप लगाउनुभयो । एमाले खोटाङका जिल्ला सदस्य समेत रहनुभएका राईविरुद्ध विभिन्न व्यक्तिको उजुरीमा एकै दिन फरक–फरक समय र ठाउँमा चार वटा कुटपिटका घटनामा संलग्न रहेको भन्दै सार्वजनिक मुद्दा दर्ता भएको थियो ।
राई तथा उनका सहयोगीहरुले भदौ–१७ गते दिउँसो एक बजे बाझेच्यानडाँडा–१ का २२ वर्षीय प्रदीप राईलाई कुटपिट गरेको, दिउँसो तीन बजे नेर्पा–८ का २४ वर्षीय धनप्रसाद बास्तोलालाई कुटपिट गरेको, चार बजे नेर्पा–८ कै ६१ वर्षीय दीलबहादुर विश्वकर्मालाई कुटपिट गरेको र बेलुकी पाँच बजे भोजपुर घर भएका नेर्पा–८ बस्ने डम्बरबहादुर विश्वकर्मालाई कुटपिट गरेको प्रहरीले जनाएको छ । चारै वटा घटनामा राई संलग्न भएको मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएपछि उनी फरार रहेका थिए ।
घटना भएको ३५ दिन नाघेपछि हाजिर भएका राई सोमबार ८० हजार रुपैयाँ धरौटी बुझाएर छुटेको जिल्ला प्रशासन कार्यालय खोटाङका नायव सुब्बा लीलाबहादुर विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उनीमाथि लागेको मुद्दा अनुसार ८० हजार धरौटी लिएर तारिखमा छाडिएको हो ।’
पत्रकार सम्मेलनमा राईले आफू संलग्न नरहे पनि आफ्नो नाममा गुण्डागर्दी गर्ने गरेकाले उनीहरुलाई कानुनी कारबाहीका लागि सहयोग गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘मैले नचिनेको मान्छेले पनि मेरो नाम लिएर गुण्डागर्दी गर्दा रहेछन्, उनीहरुलाई आगामी दिनमा कानुनी कारबाहीका लागि ल्याउन मेरो तर्फबाट सहयोग हुनेछ ।’
एमाले जिल्ला अध्यक्ष बबि चाम्लिङले पार्टीमा गुण्डागर्दी गर्ने व्यक्तिलाई संरक्षण नगर्ने प्रतिवद्धता जनाउनुभएको छ । पत्रकार सम्मेलनमा एमाले जिल्ला सचिव रामप्रसाद दंगाल, सचिवालय सदस्य कुमार आचार्य, दीपनारायण रिजाल, लगायतको उपस्थिति रहेको थियो ।