खोटाङ, कार्तिक १६ – खोटाङमा ‘घुम्ती किम्फ २०१४’ को आयोजना गरिएको छ । हिमाल एसोसिएसनको आयोजना तथा नेपाल पत्रकार महासंघ खोटाङ शाखाको सह–आयोजनामा किम्फको उत्कृष्ट फिल्महरुको प्रदर्शनी ‘घुम्ती किम्फ’को आयोजना गरिएको हो । 
ज्ञानबद्र्धन, शिक्षाप्रद तथा सुचनामूलक फिल्महरुको प्रदर्शनी आगामी मंगलबार र बुधबार सदरमुकाम दिक्तेलस्थित मुभीलेण्ड हाइभिजन हलमा प्रदर्शन गरिने नेपाल पत्रकार महासंघ शाखाका सह–सचिव केदार मगरले बताउनुभयो । ‘घुम्ती किम्फ’का लागि काठ्माडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)का तीन सदस्यीय टोली आइतबार खोटाङ आइपुगेको छ । 
‘घुम्ती किम्फ’मा ‘डन्ट गो सो फार, बालकृष्ण सम, कम्लहरी  नेपाल्स स्टोलन चाइल्डहुड, झ्याउली, शेर्पाज द टु हिरोज अफ माउण्ट एभरेष्ट, प्लेइङ विथ नान, जर्नी टु यार्सा, एटीसिक्स सेन्टिमिटर, इडुकेटिङ नेपाल र ह्वाई पभर्टी’ लगायतका फिल्म तथा डकुमेन्ट्रीहरु प्रदर्शन गरिने महासंघले जनाएको छ । 
जिल्लाका युवा समुहको उल्लेख्य सहभागीताकालागि महासंघका प्रतिनिधिले शैक्षिक संस्था, संघ संगठन लगायतका स्थानमा पुगेर प्रचार प्रसारलाई तिब्रता प्रदान गरिरहेका छन् । ‘घुम्ती किम्फमा प्रदर्शन गरिने सबै फिल्महरु सन्देशमुलक र ज्ञानबद्र्धक छन्,’ सह–सचिव मगरले भन्नुभयो, ‘त्यही भएर हामीले जिल्लाका युवायुवतीलाई बढि सहभागीता गराउने लक्ष्य लिएका छौँ ।’