बुधबार एकैदिन सात जना विद्यार्थी बेहोस बनेर ढलेपछि आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक प्रेमकुमार श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार उक्त विद्यालयमा हप्तादिनदेखि केही विद्यार्थीमा यस्तो समस्या देखा परेको थियो ।
विद्यालयका अनुसार बेहोस भएर ढल्नेमा अधिकांश छात्रा रहेका छन् । बेहोस बनेर ढल्नेमा कक्षा–९ मा अध्ययनरत छात्रा भुमा भट्टराई र दीपा कार्की, कक्षा–८ की एलिना कार्की, कक्षा–७ की ईन्दिरा भट्टराई, कक्षा–६ की नमिता खत्री र कक्षा–८ का छात्र उमेश कार्की रहेका छन् ।
विद्यालय बन्द गरिएपछि उक्त विद्यालयमा अध्ययनरत तीन सय विद्यार्थी पठनपाठनबाट वञ्चित भएका छन् । विद्यार्थीमा देखिएको समस्या थाहा नभएकाले अन्य विद्यार्थीमा समेत सर्ने आशंकाले विद्यालय बन्द गरिएको प्रधानाध्यापक श्रेष्ठको भनाइ छ ।
बेहोस बनेका विद्यार्थीलाई धामीले झारफुक गरेपछि होसमा आउने शिक्षक गोविन्द कटवालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘धामी हेराउँदा पिशाचले दुःख दिएको छ भन्छ, त्यसैले विद्यालयमै धामी राख्ने तयारी गरेका छौं ।’
यसअघि गत वर्ष जिल्लाको उत्तरी गाविस खार्मीस्थित कालिका माविमा पनि यस्तै समस्या देखिएको थियो । झण्डै महिनादिनसम्म देखा परेको उक्त समस्या बिस्तारै समाधान भएको विद्यालयले जनाएको छ ।