मंसिर ७ । जीप दुर्घटनामा परी ज्यान गुमाउने मृतकका आफन्तको माग व्यवसायीले सम्बोधन गरेपछि मृतकको शव आफन्तले बुझेका छन् । 
चालकलाई कारबाहीको दायरामा ल्याउने, मृतकका परिवारलाई जनही एक–एक लाख क्षतिपूर्ति दिने, मृतकको किरिया खर्च बापत परिवारलाई जनही २५–२५ हजार दिने, मृतकको शव घर–घरमा पु¥याइ दिने र दुर्घटनाका घाइतेको उपचारमा लाग्ने सम्पूर्ण खर्च यातायात व्यवसायीले ब्यहोर्ने भएपछि आफन्तले शव बझेका हुन् । 
आफन्तको मृत्युपछि आक्रोशित मृतकका परिवार र यातायात व्यवसायीबीच जिल्ला प्रहरी कार्यालय खोटाङमा शनिबार साँझ भएको दुई पक्षीय भेलामा यस्तो सहमती भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताउनुभयो ।
 चालकको लापर्वाहीले आफन्तको ज्यान गएको र मृतकका परिवारलाई व्यवसायीले बेवास्ता गरेको भन्दै चालकलाई कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउनुपर्ने, मृतकका परिवारलाई तत्काल उचित क्षतिपूर्ती दिनुपर्ने, मृतकको शव घर–घरमा पु¥याइनुपर्ने, घाइतेको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यवसायीले ब्यहोर्नु पर्ने लगायतका माग मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिएका थिए । 
बालाचतर्दशीको अवसरमा हलेसीमा दर्शन गरेर फर्किएका यात्रु बोकेर जयरामतर्फ जाँदै गरेको मे १ ज ७३२ नम्बरको मुस्ताङ जीप शुक्रबार बिहान बडहरे र दुर्छिमको सिमानामा पर्ने गौरी भीरमा खस्दा पाँच महिला र दुई पुरुषको मृत्यु भएको थियो । जीप दुर्घटनामा सबैभन्दा बढि सिन्धुली लाम्पाङटारका स्थानीय परेका छन् ।
दुर्घटनामा सिन्धुली लाङपाङटार–४ का ५५ वर्षीया पुर्णमायाँ मगर, ४५ वर्षीया चन्द्रमायाँ मुक्तान, ३७ वर्षीया चन्द्रमायाँ कार्की, सिन्धुली आरुबोटेकी ६० वर्षीया बालकुमारी राउत, ओखलढुंगा च्यानम–२ का ५६ वर्षीय टंक राया, नुवाकोट पञ्चकन्यका ३८ वर्षीय रोबहादुर पण्डित र ३३ वर्षिय सरस्वती पण्डितको ज्यान गएको थियो । छ जनाको घटनास्थलमै र बालकुमारीको उपचारका लागि अस्पताल लैजाने क्रममा काठमाडौंमा मृत्यु भएको प्रहरीले जनाएको छ । 
मृतक मध्ये सिन्धुली लाङपाङटार–४ की ५५ वर्षीया पूर्णमायाँ मगर, ४५ वर्षीया चन्द्रमायाँ मुक्तान, ३७ वर्षीया चन्द्रमायाँ कार्की, नुवाकोट पञ्चकन्यका ३८ वर्षीय रोबहादुर पण्डित र ३३ वर्षिय सरस्वती पण्डितको शव परीक्षणका लागि अस्पताल ल्याइएको थियो । अन्य दुई जनाको सम्बन्धित जिल्ला पठाइएको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले जानकारी दिनुभएको छ ।
दुर्घटनामा बालकुमारी सहित सिन्धुली लाम्पाङटारका ५२ वर्षीय टेकबहादुर मगर, ३३ वर्षीय सन्तोष मगर, आठ वर्षीय आशिष मगर, २८ वर्षीय टेकबहादुर रमौली, १८ वर्षीय चित्रबहादुर रमौली, ३५ वर्षीय शम्भु विश्वकर्मा, ३३ वर्षीय मञ्जु भण्डारी र काठमाडौं कपन बस्दै आएकी दश वर्षीया सिम्रन पण्डित घाइते भएकी छन् । घाइते सिम्रन मृतक रोबहादुर र सरस्वतीकी छोरी हुन् । 
तीब्र गतिको जीप सडकमा भएको खाल्डो छलेर पार गर्नेक्रममा दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनामा घाइते बनेका आठ जनाको अहिले शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको जनाइएको छ । 
घाइते तथा मृतकको उद्धारका लागि प्रमुख जिल्ला अधिकारी सापकोटा सहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख घटनास्थल पुग्नुभएको थियो । प्रजिअ सहित उद्धारकर्मी तत्काल घटनास्थल पुगेकाले थप क्षति हुनबाट जोगिएको स्थानीय रसकुमार राईले बताउनुभयो । 
उनीहरुलाई दुर्घटनास्थलबाट उद्धार गरी नेपाली सेनाको हेलीकोप्टरमार्फत काठमाडौं लगिएको थियो । घाइतेहरुलाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीले उद्धार गरेका थिए । 
दुर्घटनामा सकुशल रहेका जीपका चालक कौशल विश्वकर्मा च्यास्मिटार प्रहरी चौकीको नियन्त्रणमा छन् । उनलाई अड्डासार गर्दै जिल्ला प्रहरी कार्यालय ल्याएर कारबाही थालिएको खरेलले जानकारी दिनुभयो ।