
खोटाङ साउन–९, जबरजस्ती करणी प्रयास गरेको आरोपमा खोटाङस्थित दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका दिपक भट्टराईविरुद्ध प्रहरीमा उजुरी परेको छ । गत साउन ४ गते दिउँसो खेतमा बाख्रा चराउँदै गरेकी महिलालाई जबरजस्ती करणी प्रयास गरेको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालय खोटाङमा भट्टराईबिरुद्द उजुरी परेको हो ।
अन्दाजी ३२ वर्षीय भट्टराईले खेतमा बाख्रा चराइ रहेको अवस्थामा मुख थुनेर लछारपछार गर्दै जबरजस्ती करणी प्रयास गरेको पीडित महिलाले बताएकी छन् । खेतमै आएका भट्टराईले घाँटी समाएर मुख थुन्दै जवरजस्ती गर्न थालेपछि अन्त्यमा फुत्किन सफल भएको पीडित महिलाको भनाई छ ।
भट्टराईले लछारपछार गरेपछि घाइते अवस्थामा रहेकी महिलाको अहिले जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको छ । स्थानीयले डोकोमा बोकेर उपचारका लागि अस्पताल ल्याइएकी महिलाको शरीरमा निलडाम रहेको छ ।
घाइते अवस्थामा रहेकी महिलालाई आफन्तले घरबाटै बोकेर ल्याएपछि सोमबार साँझ अस्पताल भर्ना गराएको प्रहरीले जनाएको छ । घटनापछि बारम्बार बान्ता गरिरहने महिलाको अवस्था गम्भीर रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
पीडितले दिएको उजुरीका विषयमा छानविन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताउनुभयो ।
घटनापछि साउन ५ गते स्थानीय कोपिला आमा समूहले पीडित महिला र पीडक भट्टराईबीच मिलापत्र गराएको खुलासा भएको छ । घटना भएको भोली पल्टै बसेको आमा समूहको भेलाले पीडित महिलाको उपचारमा लाग्ने सम्पूर्ण खर्च पीडक भट्टराईले व्यहोर्ने र उपचारमा जाँदाको समयमा घरपरिवार तथा पशुचौपायको हेरचाह पीडकले नै गर्ने सर्तमा मिलापत्र गराएको खुलासा भएको हो ।
मिलापत्र गरेको कागजमा आमा समूहका पदाधिकारी तथा पीडित र पीडक दुवैले हस्ताक्षर गरेको पाइएको छ । आमा समूहले गराएको मिलापत्र बमोजिम पीडक भट्टराईले सर्त पूरा नगरेपछि घटना बाहिर आएको हो ।
पीडक भट्टराई मिलापत्र गरेलगत्तैदेखि फरार रहेको स्थानीयले बताएका छन् । उनले यसअघि पनि रातको समयमा घरमा आएर पटकपटक जबरजस्ती करणीको प्रयास गरेको पीडित बताउँछिन् ।